‘उत्सव’ले उकास्ला त सौगातको करिअर ?


saugat-malla

ग्ल्यामर नेपाल, काठमाडौं । निश्चल बस्नेत निर्देशित फिल्म ‘लुट’ रिलिजपश्चात सौगात मल्लको करिअरले गति लियो। उनको क्रेज आकासियो। क्रेजसँगै उनीप्रतिको दर्शकको अपेक्षा बढ्नु स्वभाविक भइहाल्यो। भटाभट फिल्म पाए तर दुखद कुरा दुई वर्ष बितिसक्दा पनि सौगातका अन्य फिल्मले न दर्शकको मन जितेको छ, न निर्माताको गोजी नै भरेको छ। कतिसम्म भने आधा दर्जनभन्दा बढी फिल्म रिलिज हुँदा पनि ‘लुट’को हाकुकालेको इमेजलाई ओभरल्याप गर्न सकेको छैन्। ‘छड्के’, ‘हाइवे’, ‘कथा’, ‘सौर्य’, ‘फिटकिरी’लगाएतका फिल्मले उनको करिअरलाई उचाई दिन सकेन। पछिल्लो पटक रिलिज भएको ‘मुखौटा’ले उनको छवि झन् बिगार्‍यो। सोही कारण सौगातको करिअर संकटमा परेको हल्ला सुनिन थालेको छ। तर पनि उनको व्यस्तता घटेको भने छैन्। यही बेला उनी अभिनीत नयाँ फिल्म ‘उत्सव’ रिलिज हुँदैछ। तर नामजस्तै यो फिल्मले सौगातको करिअरमा उत्सव ल्याउँला त ? प्रतिक्षाको विषय बनेको छ।

कुमार भट्टराईले निर्देशन गरेको ‘उत्सव’मा नयाँ पुस्ताका कलाकारको अभिनय रहेको छ। सौगातसहित गौरव पहारी, मेनुका प्रधान, प्रकृति श्रेष्ठ र संजोग कोइराला फिल्मका मुख्य कलाकार हुन्। हालै सार्वजनिक गरिएको ट्रेलरले फिल्मलाई हाइप दिलाइरहेको छ। सौगात आफैं पनि प्रमोशनमा सक्रिय भएर लागेका छन् तर उनका अघिल्ला फिल्मजस्तै ‘उत्सव’ पनि रिलिज अगाडि हिट र पछाडी फ्लप हुने डर पनि उत्तिकै छ। यो डर यथार्थमा परिणत हुन्छ कि हुँदैन्, त्यसको लागि भदौ १३ सम्म कुर्नुपर्ने हुन्छ।

SUBSCRIBE 👉