“पर्यटक कलाकारको स्वागत” नारासहित तेह्रौँ अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला २०८२ सम्पन्न

तेह्रौँ अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला २०८२ काठमाडौंसहित विभिन्न स्थानमा भव्य रूपमा सम्पन्न। ९ देशको सहभागिता र ५ लाखभन्दा बढी दर्शकको उपस्थितिले कार्यक्रमले सांस्कृतिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।


“पर्यटक कलाकारको स्वागत गर्ने नेपाली लोकसांस्कृतिक आधार” भन्ने मूल नारासहित एभरेस्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा तेह्रौँ अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला २०८२ सफलतापूर्वक सम्पन्न भएको छ। उक्त मेला यही चैत्र ५ गतेदेखि १४ गतेसम्म सञ्चालन भएको थियो।

कार्यक्रमको उद्घाटन काठमाडौंमा गर्दै पाँचखाल, पोखरा, बुढानिलकण्ठ, बसन्तपुर, पाटन दरबार क्षेत्र लगायत विभिन्न विद्यालयहरूमा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको थियो। मेलामा बोत्सवाना, इस्टोनिया, जर्मनी, भारत, ताइपे, साउथ अफ्रिका, इजरायल, नेपाल लगायतका देशहरूको सहभागिता रहेको थियो। केही देशहरू अन्तर्राष्ट्रिय परिस्थितिका कारण सहभागी हुन नसकेको आयोजकले जनाएको छ।

आयोजकका अनुसार, विगत २००२ सालदेखि प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको यस मेलामा विभिन्न देशका कलाकारहरूले आफ्ना मौलिक लोकसंस्कृति झल्कने प्रस्तुति दिएका थिए। कार्यक्रमलाई देशभरबाट ५ लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गरेका छन् भने टेलिभिजन, युट्युब र फेसबुकमार्फत पनि उल्लेखनीय दर्शक सहभागिता रहेको एभरेष्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष, आरसी कोइराला “रामचन्द्र” ले जानकारी दिएका छन्।

यस्ता कार्यक्रमले नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको भनाइ छ। यद्यपि, सम्बन्धित सरकारी निकायबाट अपेक्षित सहयोग नपाएकोप्रति आयोजकले खेद व्यक्त गरेको छ।

कार्यक्रम सफल बनाउन काठमाडौं महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका, ललितपुर महानगरपालिका, पाँचखाल नगरपालिका लगायत स्थानीय तह तथा विभिन्न संस्थाहरूले महत्वपूर्ण सहयोग पुर्‍याएका थिए।

एभरेस्ट नेपाल कल्चरल ग्रुपकी निर्देशक सीतल आचार्यले आगामी चौधौँ अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला २०८४ को तयारीमा जुट्ने जानकारी गराउँदै यस कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति एभरेस्ट नेपाल कल्चरल ग्रुपले आभार व्यक्त गरेको छ।

यो पनि पढ्नुहोस् : नमुना कलेजको २०औँ ग्राजुएसन फेसन शोमा देखियो प्रकृतिबाट प्रेरित सिर्जनात्मक फेसन कथाहरू

SUBSCRIBE 👉