एक्सन फिल्म ‘एक्का तीन’मा पुष्प खड्का र पूजा शर्माको जोडी

फिल्म ‘एक्का तीन’मा पूजा शर्मासँग अभिनेता पुष्प खड्काको जोडी पक्का भएको छ। एक्सन जनराको यो फिल्मको छायांकन जेठबाट सुरु हुने तयारी छ।


एक्सन फिल्म ‘एक्का तीन’को तयारी तीव्र गतिमा अघि बढेको छ, र अब यसको मुख्य जोडी पनि पक्का भएको छ। अभिनेत्री पूजा शर्मा पहिले नै फाइनल भइसकेकी यस प्रोजेक्टमा अब अभिनेता पुष्प खड्काको पनि आधिकारिक प्रवेश भएको छ।

निर्देशक रुपेश तामाङका अनुसार फिल्मको प्रि–प्रोडक्सन लगभग अन्तिम चरणमा पुगेको छ र छायांकन आउँदो वर्षको जेठ महिनाबाट सुरु गर्ने योजना छ। निर्माण टिमले पुष्पसँग कागजी सम्झौता गर्दै फिल्मको लाइनअप अझ मजबुत बनाएको छ।

‘एक्का तीन’लाई पूर्ण रूपमा एक्सन जनरामा निर्माण गर्ने तयारी भइरहेको छ। यद्यपि, पुष्प खड्काको भूमिकाबारे निर्माणपक्षले अहिलेसम्म खुलाएको छैन, जसले दर्शकमा थप उत्सुकता बढाएको छ।


फोटो ग्यालरी हेर्नुहोस् : नायिका पुजा शर्माको बिकिनी लुक्स


फिल्ममा स्थापित कलाकारसँगै नयाँ अनुहार पनि ल्याउने योजना छ। निर्माण टिमले एक–एक जना नवनायक र नवनायिकालाई डेब्यू गराउने तयारी गरिरहेको जनाएको छ, जसले फिल्ममा ताजापन थप्ने अपेक्षा गरिएको छ।

सुमन गजमेरले कथा लेखेको यो फिल्म जुना फिल्मस् र अधिरा फिल्मस्ले निर्माण गर्दैछन्।

पुष्प खड्का र पूजा शर्माको जोडी यसअघि ‘३६ को आँकडा’मा देखिएको थियो। त्यसबाहेक केही म्युजिक भिडियोमा पनि सँगै काम गरेका उनीहरूको केमेस्ट्री दर्शकमाझ रुचाइएको छ। यही कारण ‘एक्का तीन’मा यो जोडी पुनः देखिनु दर्शकका लागि प्रतीक्षित विषय बनेको छ।

नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय एक्सन जनराका फिल्महरू बढ्दै गइरहेका बेला ‘एक्का तीन’ले फरक प्रस्तुति दिन्छ कि भन्ने चासो पनि बढेको छ।


यो पनि पढ्नुहोस्: निर्देशक रन्धिर श्रेष्ठको ‘कुम्भ’, एक्सन र प्रेम कथामा साउथ कलाकारसँग धमाका


SUBSCRIBE 👉