
Barsha Raut and Bijay Baral from the scenr of Nepali Movie Malati Mangale
सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश–२०८३’ जारी गरेपछि सेन्सर बोर्डका सदस्यहरू पदमुक्त हुँदा चलचित्र जाँच प्रक्रिया नै अन्योलमा परेको थियो। तर त्यही अन्योलबीच नेपाली फिल्म ‘मालती मंगले’ले सफलतापूर्वक सेन्सर पास गरेको छ।
२ घण्टा ३८ मिनेट लामो यस फिल्मले ‘युनिभर्सल’ सर्टिफिकेट पाएको छ, अब सबै उमेर समूहका दर्शकहरुले फिल्मको मजा लिन सक्नेछन्। प्रमाणपत्र लिन निर्माता तथा गायक रामकृष्ण ढकाल स्वयं पुगेका थिए।
सेन्सर बोर्डमा रिक्तता भए पनि चलचित्र जाँचलाई अत्यावश्यक सेवा मानेर चलचित्र विकास बोर्डको प्रतिनिधिको उपस्थितिमा प्रक्रिया अगाडि बढाइएको थियो। बोर्डका तर्फबाट दीपा बस्नेत प्रतिनिधि बनेकी थिइन्। पदेन सदस्यहरू भने यथावत रहेकाले सोही आधारमा जाँच सम्पन्न गरिएको हो।
रानी फिल्म्सको ब्यानरमा निर्माण भएको ‘मालती मंगले’ युनि इन्टरटेन्मेन्टसँगको सहकार्यमा तयार भएको हो। निर्देशक प्रकु पाण्डेयले नै कथा लेखेका छन् भने पटकथा र संवाद संयोग गुरागाईंले तयार पारेका हुन्।
फिल्ममा विजय, वर्षा र मेक्समसहित प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा लगायत कलाकारको अभिनय रहेको छ।
यसअघि सार्वजनिक ट्रेलर र गीतहरू, ‘सुनैको सपनी’, ‘ढुङ्गा माथि लेऊ’ र ‘झ्याम पारम’ ले राम्रो चर्चा पाइसकेका छन्। आरआर फिल्म्सले वितरण गर्ने यो फिल्म वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।
यो पनि पढ्नुहोस्: उच्च अदालतको निर्णयपछि ‘लालीबजार’ प्रदर्शन सुनिश्चित, वैशाख २५ देखि प्रदर्शनमा आउने पक्का!
