मनोज गुरुङ र अनुशा राईको जोडी लिएर आयो ‘पेन्सन पट्टा’को गीत ‘ऐना हेरेर, कपाल कोरेर’

माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’को गीत ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक भएको छ। सुरज तामु र शान्ति श्री परियारको स्वर रहेको गीतमा मनोज गुरुङ र अनुशा राई फिचर्ड छन्।

Manoj Gurung and Anusha Rai | Pension Patta Romantic Song

नेपाली फिल्म ‘पेन्सन पट्टा’को गीत ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक भएको छ। प्रेम र मायाको भावनालाई केन्द्रमा राखिएको गीतमा सुरज तामु र शान्ति श्री परियारको स्वर सुन्न सकिन्छ।

सुरज तामुको शब्द तथा संगीत रहेको गीतलाई मनोज थापा मगरले संगीत संयोजन गरेका हुन्। मौलिक स्वादमा तयार गरिएको गीतले प्रेमलाई भावनात्मक र सम्झनलायक ढंगले प्रस्तुत गरेको छ। भिडियोमा अभिनेता मनोज गुरुङ र अनुशा राईलाई रोमान्टिक भूमिकामा देख्न सकिन्छ।

फिल्मको कथावस्तुसँग जोडेर तयार गरिएको गीतले ‘पेन्सन पट्टा’भित्रको प्रेम र सम्बन्धको पक्षलाई पनि संकेत गर्छ। बाहिरबाट लाहुरे जीवन पेन्सन, प्रतिष्ठा र सुख–सुविधासँग जोडिएको देखिए पनि त्यसभित्र रहेका पारिवारिक सम्बन्ध, प्रेम, त्याग, विछोड र भावनात्मक संघर्षलाई फिल्मले महत्वपूर्ण रूपमा उठाएको निर्माण पक्षले जनाएको छ।

पेन्सनसँगै परिवार र सम्बन्धको कथा

‘पेन्सन पट्टा’ले लाहुरे जीवनसँग जोडिएको पेन्सन, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र सामाजिक संरचनालाई कथाको केन्द्रमा राखेको छ।

पेन्सनपट्टामा आमाको नाम नभई बाबुकी पहिलो पत्नीको नाम रहेको प्रसंगबाट फिल्मको कथा अघि बढ्छ। वर्षौंदेखि परिवारको स्मरणबाट समेत ओझेलमा परेकी जेठी आमाको खोजीमा निस्कने पात्रमार्फत हराएको पेन्सनपट्टासँगै पारिवारिक विगत, सम्बन्धमा आएको दूरी, पहिचान र पेन्सन अधिकारसँग जोडिएका जटिलता कथामा जोडिन्छन्।

निर्देशक माओत्से गुरुङका अनुसार भूतपूर्व गोर्खालीको योगदानसँग जोडिएको पेन्सनले परिवारमा पार्ने प्रभाव फिल्मको महत्वपूर्ण पक्ष भए पनि कथा पेन्सनमा मात्रै सीमित छैन। फिल्ममा प्रेम, भावना र पारिवारिक सम्बन्धका विभिन्न तहलाई पनि प्रस्तुत गरिएको छ।

गुरुङले करिब १२–१५ वर्षदेखि यस विषयमा फिल्म बनाउने सोच बोकेको बताएका छन्। गोर्खालीको निधनपछि परिवारले पाउनुपर्ने पेन्सन सहज रूपमा प्राप्त गर्न नसक्दा उत्पन्न हुने समस्या र त्यसले परिवारभित्र ल्याउने उतारचढावलाई कथामा समेटिएको उनको भनाइ छ।

धन, सम्पत्ति र प्रतिष्ठिभन्दा मानवीय सम्बन्ध, त्याग र आत्मिक सन्तुष्टिलाई फिल्मले प्राथमिकता दिएको निर्देशक गुरुङले बताएका छन्।

प्रचारमा नयाँ गीत

‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक हुनुअघि निर्माण टिमले फिल्मका पोस्टर, टिजर, पहिलो गीत र ट्रेलर सार्वजनिक गरिसकेको छ। प्रदर्शन मिति नजिकिँदै जाँदा प्रचारप्रसारलाई थप तीव्र बनाइएको छ।

नयाँ गीतले फिल्ममा रहेको प्रेमकथा र पात्रहरूबीचको सम्बन्धलाई दर्शकमाझ अझ खुलाउने अपेक्षा निर्माण पक्षको छ।

फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, मनोज गुरुङ र अनुशा राईलगायत कलाकारको अभिनय छ।

मीन कोन्मे गुरुङ (सिकलेस), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ र सपना गुरुङ फिल्मका निर्माता हुन्। डिबी गुरुङ प्रोडक्सन म्यानेजर छन् भने सुशन प्रजापतिले छायांकन र सुरज तामुले कास्टिङ निर्देशन गरेका छन्।

फिल्मको संगीत मनोज थापा मगर, शिव बराइली र सुरज तामुले तयार पारेका हुन्। निमेश श्रेष्ठ र केर डी कोइन्च लिनुचले संयुक्त रूपमा सम्पादन गरेका छन्। तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन् भने सुरज तामु र केर डी कोइन्च लिनुच सह–लेखक हुन्। राजेन्द्र मोक्तान कलरिस्ट र राजु याकचा कला निर्देशकका रूपमा रहेका छन्।

आरआर फिल्म्समार्फत रोहित कट्टेल र रत्न श्रेष्ठले फिल्मलाई देशभर वितरण गर्नेछन्।

माओत्से गुरुङ निर्देशित ‘पेन्सन पट्टा’ले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल (यू) प्रमाणीकरण पाइसकेको छ। फिल्म भदौ २६ गते शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

SUBSCRIBE 👉