
नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको चलचित्र ‘टनेल २६: द कर्स बिनिथ द माउन्टेन’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ। ललितपुरस्थित लबिम मलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको ट्रेलरले भुटानको एक जलविद्युत् सुरुङभित्र हुने दुर्घटना, त्यसपछि उत्पन्न संकट र बाँच्नका लागि पात्रहरूले गर्ने संघर्षलाई केन्द्रमा राखेको छ।
डिजास्टर जनरामा निर्माण भएको चलचित्र आगामी असोज २३ गते अर्थात् अक्टोबर ९, २०२६ देखि नेपाल र भुटानका हलमा एकसाथ प्रदर्शनमा आउनेछ।
ट्रेलर सार्वजनिक कार्यक्रममा नेपाल तथा भुटानका निर्माता, कलाकार र प्राविधिक सहभागी थिए। कार्यक्रममा सहभागी हुन भुटानबाट १६ सदस्यीय टोली नेपाल आएको थियो।

वास्तविक घटनाबाट प्रेरित ‘टनेल २६’
सार्वजनिक ट्रेलरले अँध्यारो सुरुङभित्रको दुर्घटना र त्यसपछि सिर्जना हुने भयावह अवस्थालाई प्रमुख रूपमा प्रस्तुत गर्छ। निर्माण पक्षका अनुसार चलचित्र भुटानमा घटेका वास्तविक घटनाबाट प्रेरित छ।
कथालाई विश्वसनीय र दृश्यात्मक रूपमा प्रभावकारी बनाउन निर्माण टोलीले कृत्रिम सेटमा मात्र भर नपरी कथाबाट प्रेरणा लिइएको भुटानस्थित वास्तविक सुरुङभित्र समेत महत्वपूर्ण दृश्य छायांकन गरेको जनाएको छ।
चलचित्रको छायांकन करिब १०० दिनसम्म चलेको थियो। सुरुङभित्रको दुर्घटना, कठिन उद्धार अवस्था र संकटबीच पात्रहरूले सामना गर्ने परिस्थितिलाई ट्रेलरले अगाडि ल्याएको छ। दृश्य प्रभाव र भीएफएक्सलाई पनि चलचित्रको महत्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरिएको छ।

सङ्गे छेल्ट्रिमले राहत कोषमा आम्दानीको हिस्सा दिने
ट्रेलर सार्वजनिक कार्यक्रममा मुख्य कलाकार तथा निर्माता सङ्गे छेल्ट्रिमले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे।
उनले चलचित्रबाट प्राप्त हुने कुल आम्दानीको २५ प्रतिशत बराबर हुने आफ्नो हिस्साको ५० प्रतिशत रकम नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने घोषणा गरे।
छेल्ट्रिमले नेपाल र भुटानका कलाकार तथा प्राविधिकको संयुक्त प्रयासबाट चलचित्र तयार भएको उल्लेख गर्दै यसको प्राविधिक तथा दृश्यात्मक स्तरप्रति आफू विश्वस्त रहेको बताए।

प्रदीप खड्का पर्दामा होइन, क्रिएटिभ प्रोड्युसरको भूमिकामा
नेपाली अभिनेता प्रदीप खड्का ‘टनेल २६’मा क्रिएटिभ प्रोड्युसरका रूपमा जोडिएका छन्। उनले चलचित्रको रचनात्मक तथा कलात्मक विकासमा समेत काम गरेका छन्।
कार्यक्रममा खड्काले निर्माता निर्वाण चौधरीसँगै भुटानका कलाकार र प्राविधिकसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए। साथै उनले आफू चलचित्रमा निर्माताको भूमिकामा मात्र रहेको र कलाकारका रूपमा अभिनय नगरेको स्पष्ट पारे।
‘टनेल २६’ प्रदीपका लागि चौथो निर्माण सहकार्य हो। यसअघि उनी ‘स्केप’, ‘ठुलो मान्छे’ र ‘एक्लो’मा निर्माण पक्षसँग जोडिएका थिए।

फिल्म निर्माणलाई निरन्तरता दिने निर्वाण चौधरीको संकेत
निर्माता निर्वाण चौधरीले पनि नेपाल र भुटानको टोलीसँग मिलेर चलचित्र निर्माणमा सहभागी हुन पाउँदा उत्साहित भएको बताए।
उनले आफ्ना बुबा विनोद चौधरी करिब चार दशकअघि चलचित्र निर्माणमा जोडिएको स्मरण गर्दै आफूले पनि आगामी दिनमा फिल्म निर्माणलाई निरन्तरता दिने इच्छा व्यक्त गरे।
डीडी किन्लेको लेखन, निर्देशन र सम्पादन
‘टनेल २६’को लेखन, निर्देशन तथा सम्पादन डीडी किन्लेले गरेका हुन्।
चलचित्रमा सङ्गे छेल्ट्रिम, अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादालगायत कलाकारको अभिनय छ।
चलचित्रलाई सङ्गे छेल्ट्रिम फिल्म्स र पिक एक्सभीले प्रस्तुत गरेका हुन्। निर्माणमा दोर्जी वाङ्चुक नेतृत्वको डोर्जिग्स प्रोडक्सन, प्रशान्त कुमार गुप्ता तथा कृष्ण गुप्ताको नेतृत्वको रेल्टिक पिक्चर्स, भुटान सरकारअन्तर्गतको DoMCIIP र निर्देशक डीडी किन्लेको रोलिङ इमेज पिक्चर्सको सहकार्य छ।
दोर्जी वाङ्चुक चलचित्रका कार्यकारी निर्माता हुन्।

नेपाल, भुटान र भारतका प्राविधिकको सहकार्य
चलचित्रको छायांकन दीर्घ गुरुङ र सङ्गे टी. तेन्जिङले गरेका हुन्। राजु तामाङ एक्सन निर्देशक, कृष्ण शर्मा निर्माण डिजाइनर र पेमा लामो निर्माण व्यवस्थापकका रूपमा छन्। मेकअप तथा पोसाक विभागको जिम्मेवारी ब्लु छेरिङ दोर्जीले सम्हालेका छन्।
चलचित्रको संगीत तथा ध्वनिसम्बन्धी काम थाइल्यान्डमा गरिएको हो। तेर्डसाक जानपानले पृष्ठभूमि संगीत तयार गरेका छन् भने करण थामावोङले साउन्ड डिजाइन तथा रि–रेकर्डिङ मिक्सिङ सम्हालेका छन्।
रथाकोर्न थोङनुनले संवाद सम्पादन तथा फोलीको काम गरेका छन् भने दृश्य प्रभाव निफान स्टुडियोले तयार पारेको हो।
नेपालमा चलचित्रको व्यवस्थापन लिभेन्ट्स स्टुडियो प्रा.लि.ले गरेको छ भने सन्तोष कुमार कार्कीले व्यवस्थापन सम्हालेका छन्।
निर्देशक डीडी किन्लेले कार्यक्रममा चलचित्रबारे रिलिजअघि धेरै दाबी गर्नुभन्दा दर्शकले प्रदर्शनपछि हेरेर मूल्यांकन गर्ने बताए।
यसअघि सार्वजनिक टिजरपछि अब ट्रेलरले ‘टनेल २६’को कथा, सुरुङभित्रको संकट र यसको ठूलो स्केलको दृश्य संसारलाई थप स्पष्ट बनाएको छ। चलचित्र अक्टोबर ९ देखि नेपाल र भुटानका हलमा प्रदर्शन हुनेछ।


