‘फूलैफूलको मौसम तिमीलाई’मा दिनेशको करियर लगानी


nita-dhungana-dinesh-dc

तस्वीर सौजन्य: दिपेश राज थारु

ग्ल्यामर नेपाल, काठमाडौं । करिब २ दशक देखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय अभिनेता तथा निर्देशक दिनेश डिसी आफ्नो करियरको लगानी फिल्म ‘फूलैफूलको मौसम तिमीलाई’मा लगानी गर्दै निर्माताका रुपमा आउने भएका छन्। लामो समयदेखिको योजनालाई मूर्त रुप दिन उनले आफ्ना परिवारको सहयोगमा ‘द दिनेश डिसी प्रोडक्सन’नामक होम प्रोडक्सनमार्फत दर्शकमाझ निर्देशनसँगै निर्माताका रुपमा आउन लागेका हुन्।

दिनेशले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मका युनिटमात्र चिनाएनन्, उनले दुई छोरी र श्रीमतिलाई पनि मिडिया सामु परिचय गराए। ‘२१ वर्षको करियरको एउटा उपहार हो यो फिल्म,’आफ्ना विगत र वर्तमानलाई सम्झँदै दिनेशले भने,‘यही कार्यक्रममार्फत मैले आफ्नो परिवारलाई पनि तपाईहरुसमक्ष निचाउँदैछु।’ कार्यक्रममा दिनेशले फिल्मको कामका लागि ज्योतिषसँग सल्लाह लिएको खुलाउँदै पुजापाठको काम बिहानै पशुपतिनाथमा गएर विशेष किसिमले सकेको जानकारी दिए।

कार्यक्रममा निर्देशक डिसीका पुराना साथी एमाओवादी नेता तथा सभासद टोपबहादुर रायमाझीले दिनेशसँगका कलेजका दिनहरुको सम्झना गरे भने अर्का सभासद गोकर्ण विष्टले डिसीलाई बहुमुखी प्रतिभाका धनीका रुपमा चित्रण गरे। चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले डिसीसँगको भेटको स्मरण गरे।

निर्देशक डिसीका अनुसार फिल्म प्रेम, एक्सन, कमेडीलगायतका फ्लेबरले भरिपूर्ण हुनेछ। ‘प्रेमका कुरा गर्दा पनि दर्शन हाँस्नेछन्। कार्यक्रममा फिल्मकी नायिका निता ढुंगाना र नवनायक आवेश भण्डारीले गुलाबको फूल साटासाट गर्दै मुहुर्त सट दिए। आगामी असोज १ गतेबाट छायांकनका लागि फ्लोरमा जाने फिल्ममा सुरेश अधिकारीको संगीत, एनबी महर्जनको द्वन्द्व, जगदीश्वर थापाको पटकथा, एलिश कार्कीको पाश्र्व संगीत, रामजी लामिछाने र नरेशवीरको कोरियोग्राफी, राजेशपायल राई, बानिका प्रधान र दिनेश डिसीको स्वर तथा पुरुषोत्तम प्रधानको छायांकन रहनेछ। फिल्मको लक्षित प्रदर्शन मिति २०७२ वैशाख ११ गते रहेको छ।

SUBSCRIBE 👉