आफूलाई रेखासँग नदाँज्न शिल्पाको गुहार !


shilpa-pokhrelग्ल्यामर नेपाल, काठमाडौं। ‘लज्जा’को सुटिङ सकिएको दुई सातापछि नायिका शिल्पा पोखरेलले आफूलाई रेखा थापासँग तुलना गरेको मन नपर्ने भनाई सार्वजनिक गरेकी छिन्। रेखासँग तुलना गर्दा आफ्नो करिअरमा असर पुग्ने देखेपछि उनी यस्तो सफाई दिन बाध्य भएकी हुन्। ‘लज्जा’को एउटा गीतको छाँयाकनमा उनलाई रेखाकै लुक्समा उतारिएपछि उनी सुरुमा त खुशी थिइन् तर मिडियामा विभिन्न टिकाटिप्पणी भएपछि उनले केही तनाब महसुस गरेको बताइन्छ। सोही कारण उनले हेटौंडाका पत्रकारहरुसँगको कुराकानीमा रेखासँग आफूलाई नदाँज्न आग्रह गरेकी हुन्। स्मरणरहोस नेपाली चर्चित सिने मासिक पत्रिकाको पछिल्लो अङ्कमा शिल्पाको आवरण तस्वीर सहित “रेखा थापाको लेबलमा आउँछु।” भन्ने अभिव्यक्तिका साथ अन्तरबार्ता प्रकाशित भएको थियो।

उसो त शिल्पालाई निर्माता छवि ओझाकै ईच्छा बमोजिम रेखाको लुक्समा फिल्ममा काम गराइएको थियो। शिल्पा आफैंले पनि यदाकदा ‘रेखालाई रिप्लेस गर्छु’ भनेर फुर्ती नलगाएकी होइनन्। तर यस्ता अभिव्यक्तिले रेखासँग दुश्मनी बढ्ने र करिअरमा असर पर्ने देखेपछि उनले आफ्नो बोली सच्याएकी छिन्। कतिसम्म भने उनले रेखा जस्तो देखिएर आफूलाई छविले फिल्म नखेलाएको दाबी पनि गरेकी छिन्। ‘म्युजिक भिडियोमा मैले कमाएको ख्याती, कार्यशैली र मप्रतिको विश्वासले मलाई उहाँ (छवि)ले फिल्म खेलाउनु भएको हो,’ उनले भनेकी छिन्, ‘म आफुलाई रेखा थापा जस्तो भन्दिन्। म शिल्पा पोखरेल नै हुँ ।’
शिल्पाले रेखाप्रति यस्तो नरम भाव देखाएपनि रेखा भने सकारात्मक हुने छाँटकाँट छैन्। झन् उनी आफूले छविलाई उपहार दिएको गाडी शिल्पाले ‘मोज’ गरेको भन्दै रिसाएको बताइन्छ।

SUBSCRIBE 👉