स्कुलका लागि डिकीले गाईन गीत


Dikki-Concertग्ल्यामर नेपाल, काठमाडौं ।
अमेरिकाको न्युयोर्कलाई कर्मथलो बनाएकी गायिका डिकी उक्याब बिदाको समय उपयोग गर्न सधैँ नेपाल आउने गरेकी छिन् । नेपाल आउँदा सांगीतिक गतिविधिमा पनि संलग्न हुन रुचाउने उनले गत शुक्रवार साँझ राजधानीको थिएटर भिलेजमा एकल प्रस्तुति दिँदै आफ्ना चर्चित गीतहरु सुनाइन् । ‘मोमेन्ट विथ डिकी’ नाम दिइएको कार्यक्रममा दर्शकको उलेख्य उपस्थिति थियो ।

उनले ‘उकालो ओरालो’, ‘के भएको’, ‘माया देऊ’, ‘जाउँ न जाउँ’ लगायत आफ्ना एक दर्जन चर्चित नेपाली गीत सुनाइन् । त्यसैगरी आफ्नै संगीत र शब्द रहेको एउटा अँग्रेजी र एउटा तिब्बतीयन गीत पनि सुनाएकी थिइन् । लगातार एक दर्जन गीत सुनाउँदा पनि स्रोताको मन नभरिएपछि उनले ‘वान्स मोर’लाई समेत सम्बोधन गरेर थप गीत सुनाउनु परेको थियो ।

डिकीलाई नेपाली गीत गाउन हौसला प्रदान गर्दै आएका संगीतकार न्ह्यु बज्राचार्यले लाइभ म्युजिकमा प्रस्ुतति दिनु सजिलो कार्य नभएको बताए । उनले भने,‘दिकीमा संगीतमा डुब्ने क्षमता छ, त्यसैले लगातार गीत गाउन सकेकी हुन् ।’ धेरैले ट्र्याकमा गीत गाउने गरेको भएपनि डिकीले लाइभ म्युजिकमैँ प्रस्तुति पस्किइन् । अमेरिकामा हुर्के बढेपनि नेपाली संगीतप्रति छोरीले देखाएको लगावबाट आफू समेत प्रभावित भएको गायिकाका वुवा तेन्जिङ उक्याबले बताए ।

नेपाल आउँदा सांगितिक कोसेली दिन रुचाउने डिकीले अघिल्लो वर्ष आर्मी अफिसर्स क्लमा कार्यक्रम गरेकी थिइन् । उनका पुर्खाको भूमि ताप्लेजुङको उत्तरी भेगमा रहेको अतिविकट गाउँ ओलाङचुङगोलाका घुन्सा, लोलेप, लुङयुङ, पापुङ र याङ्मा ६ वटा स्कुललाई सहयोग जुटाउन सोलो कन्सर्ट गरेकी हुन् । जसबाट जम्मा भएको रकम प्रत्येक गाउँका स्कुललाई रु ५० हजारका दरले वितरण गरेकी थिइन् ।

तीन वर्षअघि उनले नेपाली गीतहरु संग्रह ‘सिल्भर लाइनिङ’ ल्याएकी थिइन् । अमेरिका रहँदा पनि उनको सांगितिक यात्रा निरन्तर छ । गत अप्रिलमा मात्रै उनले तीनटा अँग्रेजी गीत समाहित गरेर ‘मेमोरिज’ सार्वजनिक गरिन् । जहाँ उनको स्वर मात्रै होइन, शब्द र संगीत पनि सुन्न पाइन्छ । उनले केही समयअघि मात्रै ‘नोथिङ टु लस’को भिडियो तयार पारेकी छिन् । न्युयोर्क फर्किनेबित्तिकै त्यो सार्वजनिक हुने उनले बताइन् ।

उच्च शिक्षा अध्ययनका क्रममा पश्चिमा क्लासिकल संगीत पनि पढेकी उनी नेपाली संगीतमा पनि पोख्त छिन् । न्युयोर्कको एसयूएनआइ प्रर्चेज युनिभर्सिटीमा राजनीतिशास्त्र अध्ययन गरिरहेकी दिकीले चाँडै अर्काे एल्बम पनि ल्याउने तयारीमा छिन् । त्यसका केही गीत रेकर्ड भइसकेका छन् ।

SUBSCRIBE 👉