लण्डन घन्काउँदै नेपथ्य


काठमाडौं । विम्बले एरेनामा ऐतिहासिक प्रस्तुतीको स्मरण ताजै रहेको अवस्थामा आगामी अगष्ट ८ मा चर्चित नेपाली लोक पप व्याण्ड नेपथ्यले बेलायतमा दोश्रो सांगीतिक प्रस्तुति दिने भएको छ । यसपटक नेपथ्यले ओ टु एकेडेमी ब्रिक्सटनमा लण्डन घन्काउनेछ ।
Amrit Gurung‘हामीले उत्तिकै अनुकूल अर्को स्थल खोजिरहँदा नेपथ्यलाई सुहाउँदो आकार र प्रतिष्ठाको यो अर्को परिपूर्ण हल फेला पारेका हौं,’ ब्याण्डलाई प्रवद्र्धन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठले भने, ‘यससँगै नेपथ्यको नाम अब त्यस हलका अघिल्ला प्रस्तोताहरु बब डिलन, मडोना, आइरन मेडन, सेक्स पिस्टल्स र युबी फोर्टी जस्ता हस्ती एवं टोलीहरुको लहरमा जोडिनेछ ।’ श्रेष्ठका अनुसार त्यो हलसँग एरिक क्ल्याप्टन, डायर स्ट्रेट्स्, द पुलिस, ह्वाम र कल्चर क्लबजस्ता थुप्रै अरु नामहरु पनि जोडिएका छन् ।

दसौं एल्बमको रेकर्डिङ सकिएर रिहर्सलको तयारीमा जुटिरहेको बेला नेपथ्यले गोर्खा परम्पराको दुई सय वर्ष पुरानो इतिहासमा समर्पित एउटा गीत पनि बेलायतमा सुनाउने तयारी गरिरहेको छ । ‘मेरा काकाबा र मावल खलकले वर्षौदेखि गाउँदै आएका र मैले केटाकेटीदेखि सुन्दै आएको गीत हो यो,’ नेपथ्यका गायक अमृत गुरुङले खुलाए, ‘हाम्रो लोक संस्कृतिमा भित्रिएका लाहुरे स्वादको थुप्रै अभिव्यक्तिहरुमध्येकै एउटा पाटो यो गीतले वर्णन गर्छ ।’ विशेषगरेर भारतीय गोर्खा रेजिमेन्टहरुमा लोकप्रिय भए पनि यसले सम्पूर्ण लाहुरेहरुको प्रतिनिधित्व गरेको गुरुङले जनाए ।

नेपथ्यले विश्वभर मानवताको सेवा गरिरहेका गोर्खा सैनिकहरुका लागि ‘नैनाताल… नैनाताल घुमिआयो रेल, आँखामा लाउने कालो गाजल बुलबुलेमा तेल… नैनाताल’ बोलको गीत समर्पण गर्दैछ । यस गीतबाहेक नेपथ्यको नयाँ एल्बमका केहि अन्य गीतहरु पनि लण्डन प्रस्तुतीका आकर्षण हुनेछन् ।
Nepathyaनेपालमा कुटनीतिक दूत पठाउने पहिलो मुलुक बेलायतसँगको दौत्य सम्वन्धले दुईसय वर्ष पुरा गरेको अवसर पारेर नेपथ्यले कार्यक्रम गर्न लागेको नेपालयले जनाएको छ । बेलायतको शोलाई स्थानीय ‘इलाइट इभेन्ट्स्’ले आयोजना र संयोजन गरिरहेको छ । बेलायतको कार्यक्रममा गायक अमृतलाई ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिँदैछन् ।

SUBSCRIBE 👉