लण्डनमा नेपथ्य घन्किँदा


काठमाडौं । नेपालको चर्चित लोक पप व्याण्ड नेपथ्यले लण्डनको ओ टु ब्रिक्सटनमा आफ्नो प्रस्तुति देखाएको छ । चार हजारभन्दा बढी दर्शकले टनाटन हलमा जसै नेपथ्य गाउन सुरुभएको थियो, उसैगरि दर्शकले पनि गाएरै साथ दिएका थिए । ब्याण्डको यसअघिका कन्सर्टहरुभन्दा एकदमै बेग्लै यसपाला कार्यक्रमको सुरुवातै नेपथ्यको सार्वजनिक हुनैलागेको दसौं अल्बमबाट भएको थियो– ‘कुरुप अनुहार हो ।’

सरुभक्तले लेखेको र विक्रम गुरुङको संगीतले सजिएको यो गीतलाई नेपथ्यले अलिक बेग्लै सुनिनेगरि एकोहोरोपनामा ढालेको छ । नेपथ्यको पहिचानकै रुपमा विकास भएको ‘छेक्यो छेक्यो’ त्यसपछिको पालोमा थियो । ‘हाम्रो गीतलाई दर्शकले मनपराइदिएको पाउँदा असाध्यै खुशी लागेको छ,’ टोलीका अगुवा एवं मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘दर्शकबाट यसरी प्राप्त हुने हौसलाले नै अर्को कार्यक्रमका निम्ति उर्जाथप्ने गरेको छ ।’
Nepathya Concertसँधै झैँ नेपथ्यका शोहरुमा गाइने गीतहरुको लहरमा यसपाला नयाँ अल्बमबाट ‘कुरुप अनुहार हो’, ‘नैनाताल’, ‘कोशीको पानी’ र ‘ओ रामा रामा’ लण्डनका दर्शकहरु माझ सुनाइएको थियो । कार्यक्रममा प्रस्तुत ‘नैनाताल’ गीत लाहुरे सँस्कृतिबाट विकास भएको लय हो जसलाई बेलायत र नेपालबीच दौत्य सम्वन्धको २ सय वर्षका अवसर पारेर प्रस्तुत गरिएको थियो । ‘नेपाल र बेलायतको बीचमा लामो समयदेखि दुईपक्षिय सम्वन्ध रहिआएको छ,’ गायक अमृतले उक्त गीत प्रस्तुत गर्ने क्रममा भने, ‘यस अवसरमा दुवै मुलुकवासीलाई म बधाइ पनि दिन चाहन्छु ।’

दुईघन्टा लामो प्रस्तुतीका बखत अमृतले विभिन्न भेगको यात्राका क्रममा भोगेका घटनाहरुको उल्लेख गरे । उनले आफूले देखेको नेपालका बारे अथ्र्याउँदै बारंबार नेपाली–नेपाली बीच एकताको आवश्यकता पनि औँल्याएका थिए । उनले नेपालीकै हातबाट राष्ट्रको पुननिर्माण हुनुपर्ने उल्लेख गर्दै यसका निम्ति मुलुकबाहिर बसेका नेपालीको पनि सहयोग खाँचो पर्ने बताए । बेलायतकै इलाइट इभेन्ट्स्ले यो कार्यक्रमको संयोजन एवं आयोजना गरेको थियो । अमृतलाई स्टेजमा ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

SUBSCRIBE 👉