अष्टनारायण पिक्चर्सले रोमान्टिक कमेडी चलचित्र ‘हिटलर’ बनाउने


अष्टनारायण पिक्चर्सले चलचित्र ‘हिटलर’ निर्माण गर्ने भएको छ। रोमान्टिक कमेडी कथामा निर्माण हुन लागेको यो चलचित्रमा अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे फिल्मस्ले पनि सहकार्य गर्नेछन्।

Nepali-Movie-Hitler

चलचित्रको निर्देशन सौरभ ढकालले गर्नेछन्। सौरभले यस अघि चलचित्र ‘सुपरहिट’ निर्देशन गरेका थिए।

चलचित्रको मुख्य भूमिकामा नायक सोहित मानन्धर पक्का भएका छन् भने नायिका को हुने हुन् फाईनल भएको छैन। निर्देशक ढकालले केही दिनमै नायिका को छिनोफानो हुने र पत्रकार सम्मेलन गर्ने बताए।

चलचित्रलाई ए.आर पौडुवालले खिच्नेछन्। यतिबेला उनी बलिउड नगरिमा व्यस्त छन्। निर्देशक ढकालका अनुसार ए.आरले थुप्रै अन्तरराष्ट्रिय प्रोजेक्टका साथमा बलिउडमा काम गरिसकेका छन्।

किच्चामान चित्रकारले लेखेको कथाको चलचित्रका संगीतकार लोचन घिमिरे हुन्। यो चलचित्रको प्रोडक्शन टिमले ए.आर सिने सर्भिससँग मिलेर चलचित्र वितरणको कामलाई समेत अघि बढाएको छ।

चलचित्रको छायाँकन नहुँदै निर्माण युनिटले रिलिज मिति समेत तय गरिसकेको छ। २०७४ वैशाख १५ गतेबाट देशभरका हलमा चलचित्र हेर्न सकिने निर्माणपक्षले बताएको छ।

चिनिमाया मानन्धरको लगानीमा निर्माण हुने यो चलचित्रमा त्रिरत्न मानन्धर कार्यकारी निर्माता रहनेछन्। लोचन घिमिरे र सौरभ ढकाल चलचित्रका सह-निर्माता हुन्।

SUBSCRIBE 👉