चलचित्र डा.खातेको ट्रेलर सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। सडक बालबालिका, घरेलु श्रमिक बाल हिंसा तथा बालश्रम बिरुद्धको आवाज प्रस्तुत गरिएको भनिएको चलचित्रको ट्रेलर बाल श्रम बिरुद्धको दिवसको अवसर पारि सार्वजनिक गरिएको हो।
रवि अर्याल निर्देशित चलचित्रलाई रोशनी केसीले निर्माण गरेकी हुन। आधा दर्जन चलचित्र र केही टेलिचलचित्रमा अभिनय गरिसकेकी रोशनीले यसै चलचित्र मार्फत निर्माणमा पनि हात हालेकी हुन। साउन ६ गतेबाट प्रदर्शन हुने उक्त चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै उनले आफु समाज सेवामा पनि सक्रिय रहीआएको र समाजकै कथालाई चलचित्रमा प्रस्तुत गरेको बताएकी छिन्। उनले सडक बालबालिकाको कथा बोकेको चलचित्रको प्रदर्शनबाट प्राप्त हुने रकमको केही प्रतिशत बालबालिकाकै बौद्धिक विकासमा खर्च गर्ने समेत जनाएकी छिन।
यस्तै चलचित्रका काष्टिङ निर्देशक डव्वु क्षत्रीले सडक बालबालिकालाई अभिनयको लागि तयार गर्न निकै कठिन भएको बताए। उनले झण्डै एकदर्जन सडक बालबालिका मध्ये अमृत परियार, सन्तोष नेपाली, सुर्य गुरुङ र सुभाषलाई लामो समयको प्रशिक्षण पश्चात अभिनयमा उर्तान सफल भएको जनाए। डव्वुका अनुसार अहिले यि चौ जना विभिन्न क्षेत्रमा रोजगारिमा रहेका छन्।
त्यसो त चलचित्रले उठान गरेको विषय आफुलाई मन परेकै कारण यसको वितरण जिम्मा आफ्नो कम्पनीले लिएको चलचित्र विकास बोर्डका सदस्य समेत रहेका वितरक नरेन्द्र महर्जनले बताएका छन्। उनले यो चलचित्रले उठाएको विषय समाजमा घटिरहेकै घटनाहरु रहेको भन्दै सरकारका तर्फबाट आवश्यक सहयोग गर्न विकास बोर्ड तयार रहेको जनाएका छन्।
चलचित्रमा चारजना सडक बालक सहित रोशनी केसी, सम्राट सापकोटा, सिल्पा पोखरेल, कुमार गजुरेल लगायतका कलाकारहरुको अभिनय रहेको छ। जगदिश्वर थापा र रवि अर्यालको लेखन रहेको चलचित्रमा दिव्य सुवेदीको छायाँकन, तारा थापा किन्भेको सम्पादन र सचिन सिंहको संगीत रहेको छ। कार्यक्रममा सांस्कृतिक संघका सभापति तिर्थ थापा, वितरक गोविन्द शाही लगायतले चलचित्रको सफलताको शुभकामना दिएका थिए।