राजधानीका हलहरुमा अझै पनि ‘म यस्तो गीत गाउँछु’


सुपरहिट चलचित्र ‘म यस्तो गीत गाउँछु’ राजधानीका केही हलहरुमा अझै पनि चलिरहेको छ। काठमाण्डौको अष्टनारायण हलमा ५१ दिनसम्म चलेको यो चलचित्र गोपिकृष्ण र गुणमा ६४ दिन पुग्दा पनि प्रदर्शन भैरहेको छ।

नेपाली फिल्मी नगरीमा चलचित्रले ५१ दिन सम्म चलेको अवसरमा सेलिव्रेशन गर्ने प्रचलन खुबै छ। तर, निर्देशक सुदर्शन थापा र उनको टिमले ‘म यस्तो गीत गाउँछु २’ निर्माण गर्ने घोषणा गरिसकेका छन्। तर, बर्षकै पहिलो सुपरहिट चलचित्रको ५१ दिन सेलिव्रेशन भने गरेनन्।

नायिका पूजा शर्मा र नायक पल शाहको मुख्य भूमिका रहेको यो चलचित्रले बम्पर व्यापार गरेको थियो। चलचित्र रिलिज भएको ठ्याक्कै २ महिनापछि पल शाह अभिनित चलचित्र ‘जोनी जेन्टलम्यान’ रिलिज भएको छ।

कतै निर्माणपक्षले चलचित्रको सय दिने सेलिव्रेशनको तयारी त गरिरहेको छैन ? निर्देशक सुदर्शन थापा भन्छन्–‘हामी विशेष कार्यक्रम आयोजना गर्छौ। तर, त्यो ७५ दिनमा वा सय दिनमा पनि हुनसक्छ, पछि जानकारी दिनेछौ।’

चलचित्र रिलिज भएको केही सातापछि तराइमा बाढी गएको थियो। नायिका पूजा शर्मा र उनको टिमले १ लाख भन्दा बढीको सामाग्री लगेर चितवनका बाढी पिडितलाइ राहत समेत वितरण गरेकी थिइन्।

SUBSCRIBE 👉