इञ्जोय मुभिजको व्यानरमा नयाँ फिल्म ‘फल्ट’ घोषणा गरिएको छ। राजधानीमा आयोजित कार्यक्रममा फिल्मका निर्देशक सुवास जिसीले फिल्मले समाजमा आफुलाई सभ्य भन्ने व्यक्तिले नकारात्मक काम गर्दा त्यसले समाजमा पार्ने प्रभावलाई विषयबस्तु बनाएको बताए। फिल्ममा सन्तोष काफ्ले निर्माता छन्।
फिल्मलाई शुभकामना दिँदै पूर्व सभामुख तथा एमाले नेता सुवासचन्द्र नेम्बाङले नेपाली राजनीति जस्तै फिल्म क्षेत्रमा पनि हुने उतारचढावलाई आफूले नजिकबाट नियाल्ने गरेको बताए। पूर्वसभामुख नेम्बाङले नेपाली कलाकारले विदेश फिल्ममा कमाएको ख्यातीबाट आफू परिचित रहेको बताउँदै पाकिस्तानको कराँची जाँदा त्यहाँ शिव श्रेष्ठको पोष्टर देख्न पाउँदा खुशी भएको खुलाए।
चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले समाजलाई सकारात्मक दिशातर्फ उन्मुख गर्ने किसिमका फिल्म बनिरहेका बेला फिल्म ‘फल्ट’ले त्यही बाटोलाई समात्नेमा आफू ढुक्क रहेको बताए। कार्यक्रममा प्रहरी अतिरिक्त नायब महानिरिक्षक सुदीप आचार्यले पनि शुभकामना दिएका थिए।
फिल्ममा शुभ आचार्य, देवराज अधिकारी, निशा श्रेष्ठ, अनिल थापा र सगुन पोखरेल प्रमुख भूमिकामा छन्। फागुनको पहिलो साताबाट फ्लोरमा जाने फिल्ममा सन्तोष काफ्लेको कथा, सुवास जिसीको पटकथा तथा संवाद, बसन्त सापकोटाको संगीत, विश्व देवकोटाको गीत र बासु बरालको छायांकन हुनेछ। इलाम, झापा, मोरङ र काठमाडौंमा छायांकन हुने फिल्म २०७५ को वैशाख तेस्रो साता रिलिज हुने निर्माण पक्षले जनाएको छ।