यूवा स्टार नायक अनमोल केसी र नव नायिका अदिती वुढाथोकीको मुख्य भूमिका रहेको चलचित्र ‘कृ’ले प्रदर्शनको छैटौ दिनसम्म लगानी सुरक्षित गरेको यसको निर्माणपक्षले दाबी गरेको छ। चलचित्रले ६ दिनसम्म आइपुग्दा देशभरका ११८ पर्दाबाट ५ करोड ४० लाख ग्रस कलेक्शन गरेको चलचित्रका निर्माता सुवास गिरीले दाबी गरेका छन्। उनका अनुसार, चलचित्रले ५ करोड ५० लाख ग्रस कलेक्शन गर्दा उनको हातमा २ करोड ४० लाख पर्न जान्छ।
यस्तै, चलचित्रको ओभरसिज राइट्स ८० लाख र विभिन्न ब्रान्डबाट ५० लाख आफ्नो हातमा आइसकेको सुवासको भनाई छ। यसरि, हेर्दा चलचित्रले हालसम्म ३ करोड ७० लाख रुपैयाँ निर्माताको हातमा सुरक्षित गरिसकेको छ । चलचित्रको बजेट साढे ३ करोड माथिको बताइएको छ। चलचित्रको हरेक दिनको रिपोर्ट सार्वजनिक गर्दै निर्माता गिरीले दोश्रो सातमा पनि चलचित्र ८० वटा हलमा चल्ने बताए । यसैले पनि दोश्रो सातादेखिको सम्पूर्ण रकम मुनाफामा जाने उनको भनाई छ।
यस्तै, चलचित्रका अर्का निर्माता भूवन केसीले चलचित्रमा महंगो रकम लगानी भएपनि राम्रो चलचित्र बनाउँदा दर्शकले मन पराइदिनुहुन्छ भन्ने विश्वास ‘कृ’ले दिएको बताए। उनले, आफूहरुको प्रतिस्पर्धा नेपाली चलचित्रसँग नभई हिन्दी चलचित्रसँग भएको बताए। उनले, ठूलो हिन्दी चलचित्रलाई ‘कृ’ले पछारेको दाबी गरे। चलचित्रका निर्देशक सुरेन्द्र पौडेलले आफूहरुको मिहिनेत सफल भएको भन्दै आफू अत्यन्त खुशी भएको बताए। केहि नकारात्मक टिप्पणी आफूहरुले सुनेपनि दर्शकले चलचित्र मन पराएको उनको भनाई छ। नायिका अदिती वुढाथोकीले पहिलो चलचित्रबाट नै राम्रो प्रतिक्रिया पाएको भन्दै खुशी व्यक्त गरिन्।
दोश्रो सातामा पनि केहि सार्वजनिक बिदा परेकाले चलचित्रले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ। चलचित्रमा अनमोल र अदितीको अलवा अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी लगायतका कलाकारको मुख्य भूमिका छ। चलचित्रका निर्माता भूवन केसीले समाजमा बढ्दै गएको बलात्कारको घटनालाई चलचित्रले उठाएको भन्दै यो चलचित्रलाई राज्यले समेत साथ दिनुपर्ने दाबी गरे।