किक, मोदी र सुनकोशीको मारमा ‘मेरो भ्यालेन्टाइन’


mero-valentine
ग्ल्यामर नेपाल, काठमाडौं । सुटिङ सकिएको दुई वर्षपछि बल्ल–तल्ल सिनेमा घरको मुख देख्न पायो, फिल्म ‘मेरो भ्यालेन्टाइन’ले। ढिलै भएपनि फिल्म रिलिज हुँदा कलाकार र निर्माण युनिट पनि दंग थिए। तर पहिलो गाँसमै ढुंगा भने झैं फिल्मले कमजोर ओपनिङ गरेको छ। सलमान खानको ‘किक’, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र सुनकोशीमा आएको भिषण पहिरो फिल्मको कलेक्सनमा अवरोध बनेको छ। सोही कारण शुक्रबार औसत व्यापार गरेको फिल्मको शनिबार केही घटेको छ भने आइतबार र सोमबार अझ ओरालो लाग्ने देखिएको छ।

अघिल्लो शुक्रबारबाट रिलिज भएपनि नेपाली हलहरुमा सलमानको ‘किक’ को ह्यांग अझ कायमै छ। सिंगलदेखी मल्टिप्लेक्स सबै हलमा यसकै कब्जा जारी रहेकोले ‘मेरो भ्यालेन्टाइन’लाई निकै धक्का पुगेको हो। त्यस्तै, आइतबारबाट भारतीय प्रधानमन्त्री नेपाल भ्रमण आउँदैछन्। मोदी भ्रमणकै खातिर सरकारले आइतबार र सोमबार उपत्यकामा सार्वजनिक बिदा दिएको खबर सामाजिक संजाल तथा केहि अनलाईन मेडिया र टेलिभिजनहरुमा प्रशारित छन् तर शनिबारदेखि नै काठमाडौंमा लगभग कर्फ्यु कै झल्को दिने गरी सुरक्षा कडा पारिएको छ।आइतबार र सोमबार अझ कडा हुनेछ।

त्यसैले सार्वजनिक बिदा भएपनि हलमा गएर फिल्म हेर्ने वातावरण सिर्जना हुँदैन्। यही बेला सुनकोशी / भोटेकोशी बाढी पहिरोका कारण देश शोकमा डुबेको छ। ज्यान जानेको संख्या दर्जन पुग्न थालिसकेको छ भने सयौं बेपत्ता छन् । सिन्धुपाल्चोकको पीडाले काठमाडौंमात्र होइन्, देशभर पिरोलेको छ। त्यसैले मनोवैज्ञानिकरुपमा पनि यस्तो बेला हलमा गएर रमाइलो गर्ने मुड कमैलाई मात्र आउँछ। सोही कारण, ‘किक’, मोदी र सुनकोशीलाई ‘मेरो भ्यालेन्टाइन’को ब्याडलकको रुपमा व्याख्या गर्न थालिएको छ।

सुरज सुब्बा ‘नाल्बो’ निर्देशित ‘मेरो भ्यालेन्टाइन’मा बाबु बोगटी, स्वतन्त्रप्रताप शाह, निशा अधिकारी, सुस्मिता ढकाललगाएतका कलाकारको अभिनय रहेको छ।

SUBSCRIBE 👉