
ग्ल्यामर नेपाल, काठमाडौं । चर्चित फिल्म निर्माता छवि ओझाको निर्माण र प्रशंसनीय फिल्म निर्देशनमा नाम कमाएका निर्देशक नवल नेपालले निर्देशन गरेको फिल्म ‘लज्जा’ले फिल्म सेन्सर बोर्डबाट ‘युनिभर्सल सर्टिफिकेट’ पाएको छ । फिल्मका निर्देशक नवल नेपालका अनुसार सेन्सरबाट फिल्मले मंगलबार ‘यू’ सर्टिफिकेट पाएको हो ।
‘सेन्सरका सदस्यहरुले फिल्मको बारेमा राम्रो प्रतिक्रिया दिए,’निर्देशक नेपालले भने,‘फिल्मको कुनै पनि दृश्य तथा संवादमा कैची नलागी फिल्मको सेन्सर भएको छ ।’ निर्देशक नेपालले यसअघि निर्देशन गरेको फिल्म ‘श्रीमान’ ले ‘पिजी’ र ‘महशुस’ले ‘यू’ सर्टिफिकेट पाएको थियो । नवलका अनुसार नारी प्रधान यस फिल्ममा आर्यनलाई भिन्न भूमिकामा देख्न पाइनेछ ।
निर्माता ओझाले पनि आफ्नो २४ वर्षे फिल्मी यात्रामा सेन्सरबाट अन्य फिल्म भन्दा ‘लज्जा’मा उत्कृष्ठ प्रतिक्रिया पाएको दाबी गरे । फिल्म कार्तिक ७ गते अल नेपाल रिलिज हुँदैछ । अभिनेता आर्यन सिग्देल र यसै फिल्ममार्फत रजतपटमा डेब्यु गरेकी नायिका शिल्पा पोखरेल अभिनित फिल्म छविराज फिल्मस् प्रोडक्सनको व्यानरमा बनेको हो । शिल्पालाई लिएर बनाएको अर्को फिल्म हवल्दार सुन्तली हाल पोष्ट प्रोडक्सनमा छ ।सेन्सरबोर्डबाट राम्रो प्रतिक्रिया पाएपछि छविले फिल्मको भिआईपी शो गर्ने तयारी गरेका छन् । जहाँ फिल्म क्षेत्रका नामक चलेका निर्माता निर्देशकदेखि लिएर फिल्म समिक्षकहरुको उपस्थिति हुनेछ ।
