
चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ रिलिज पुनः एकपटक पछि सारिएको छ। असोज १३ गते अर्थात् दशैंको फूलपातीमा रिलिज हुने भनिएको चलचित्र अब असोज २४ गतेदेखि प्रदर्शनमा आउने भएको छ।
निर्माण पक्षले विज्ञप्ति जारी गर्दै रिलिज मिति पछाडि सारिएको जानकारी दिएको हो। असोज १३ गतेकै दिन चारवटा नेपाली चलचित्र एकैसाथ प्रदर्शनमा आउने भएपछि फिल्मको सो संख्या कम हुने चिन्ता बढेको र प्रदर्शक तथा वितरकहरूको आग्रहलाई मध्यनजर गर्दै नयाँ मिति तोकिएको जनाइएको छ।
यो चलचित्र अब असोज २४ गते देखि नेपाली र हिन्दी दुवै भाषामा वर्ल्डवाईड रिलिज गरिने निर्माण पक्षले स्पष्ट पारेको छ। यस पटक चाचित्रले एकल रिलिजको मौका पाएको छ, जसलाई निर्माण पक्षले फाइदाजनक अवसरका रूपमा लिएको छ।
सुशान्त गौतमले निर्देशन गरेको चलचित्र ‘अभिमन्यु : च्याप्टर १’मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन्।
चलचित्र निर्माण कम्पनि सेभेन सिज सिनेमाको विज्ञप्तिमा भनिएको छ, “हामीले भदौ २७ गते प्रदर्शन र्ने भनिएको चलचित्र ‘अभिमन्यु – Chapter 1’ देशमा भएको Gen-Z आन्दोलनका कारण स्थगन गर्नु परेको थियो। तर हाम्रो सम्पूर्ण मार्केटिङ सामग्री प्रयोग भइसकेको र असोज १३ गतेकै दिन अन्य धेरै चलचित्रहरू प्रदर्शनमा आउने भएकाले पर्याप्त शो उपलब्ध गराउन सिनेमाघरहरूलाई कठिन हुने साथै यसले अन्य नेपाली चलचित्रहरूलाई समेत असर पार्ने अवस्था देखियो। यी सबै पक्षलाई विचार गरी हामीले शुभ साईत असोज २४ गते लाई चलचित्रको अन्तिम प्रदर्शन मिति तय गरेका छौँ। यस दिन चलचित्रलाई नेपाली र हिन्दी दुवै भाषामा देशभर तथा विश्वव्यापी रूपमा सार्वजनिक गरिने जानकारी गराउछौँ। तपाईंहरूको साथ र समर्थनका लागि आभारी रहँदै यस निर्णयका कारण देश तथा विदेशमा रहनुभएका वितरक, प्रदर्शक, दर्शक र सन्चारमाध्यममा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं।”
