
रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठानद्वारा आयोजित गायन र नृत्य प्रतियोगिताको कार्यक्रम ‘कास्की आइडल’ को पहिलो अडिसन सम्पन्न भएको छ। पोखरा तालचोकमा भएको अडिसनबाट गायनतर्फ २० र नृत्यतर्फ १५ जना दोस्रो चरणका लागि छनोट भएका छन्। अडिसन निर्णायकहरूमा गायनतर्फ खेम लामा र कृष्णमाया तिवारी तथा नृत्यतर्फ उपेन्द्र गुरुङ र समृद्धि पाण्डे रहेका थिए।
रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा गीतकार प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले गीत र नृत्यका प्रतिभा खोजीका लागि दुई संस्था मिलेर कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
कार्यक्रमको उद्घाटन गर्दै कवि तथा गीतकार रमेश श्रेष्ठले गीतले जीवनका आरोहअवरोहको चित्रण गर्ने भएकाले सबैलाई मन पर्ने बताए। आफूले चित्रकला र कविता प्रतियोगितामा भाग लिएको समयको स्मरण गर्दै श्रेष्ठले यस्ता प्रतियोगिताले नवप्रतिभालाई प्रेरणा दिने अनुभव सुनाए।
पोखरा क्षेत्रले नेपाली साहित्य र सङ्गीतमा पुर्याएको योगदानको स्मरण गर्दै अधिकारीले भावी दिनमा पनि यस्ता आइडलबाट पहिचान भएका प्रतिभाले यस क्षेत्रको गरिमा अझ उँचो बनाउने विश्वास व्यक्त गरे।
गायक झलक गुरुङले स्वागत मन्तव्य राख्दै कार्यक्रमको रूपरेखाबारे प्रकाश पारेका कार्यक्रममा रूपा वाङ्मय प्रतिष्ठानका सचिव मदन घिमिरेले शुभकामना दिएका थिए।
गीतकार प्रतिष्ठानका सचिव रुपिन्द्र प्रभावीले सञ्चालन गरेको कार्यक्रममा अनिल ढुङ्गानाले आफ्नो साङ्गीतिक प्रस्तुति राखेका थिए।
