
गीतकार तथा सञ्चारकर्मी डब्बु क्षत्रीले निर्देशन गरेको लघु चलचित्र ‘द चेन्ज’ (परिवर्तन) र निर्देशक केपी पाठकद्धारा निर्देशित बृत्तचित्र ‘तान्त्रिक डान्स’ ले बंगलादेशमा आयोजित अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘बोगुरा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा अवार्ड जित्न सफल भएको छ। ‘छैटौं बोगुरा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा ३२ देशका ७४ चलचित्रहरू सहभागी थिए। नेपालबाट तीन वटा लघु चलचित्र र एक बृत्तचित्र प्रतिस्पर्धामा सहभागी थिए।
महोत्सवमा ‘इन्टरनेशलन सर्ट इन्डोर’ विधा अन्तर्गत डब्बुको ‘द चेन्ज’ (परिवर्तन) चयन भएको थियो। यो विधामा चलचित्र ‘द चेन्ज’लाई ‘अनरेबल मेनस अवार्ड’बाट पुरस्कृत गरिएको छ। यो लघुृ चलचित्रमा प्रवण र सरितासँगै कमला जोशी, माधवराज खरेल, शर्मिला शर्मा, सुरज अधिकारीसहितको मुख्य भूमिका रहेको छ।
निर्देशक डब्बु क्षेत्री सहित अभिनेता प्रवण भुसाल, अभिनेत्री एवम् गायिका सरिता भारती र यसको मेकअप आर्टिष्ट बिना राना मगर महोत्सवमा नेपालबाट सहभागी भएका थिए। निर्देशक क्षत्री, अभिनेता प्रवण र अभिनेत्री सरिताले महोत्सवको समापन समारोहमा सो अवार्ड एवम् पुरस्कार ग्रहण गरे।
यस्तै महोत्सवमा निर्देशक केपी पाठकद्धारा निर्देशित कात्तिक नाचमा आधारित बृत्तचित्र ‘तान्त्रिक डान्स’ले अन्तर्राष्ट्रिय तर्फ ‘अनरेबल मेनस अवार्ड’ पायो। नेपालको लघु चलचित्र ‘द चेन्ज’ र बृत्तचित्र ‘तान्त्रिक डान्स’ लाई उद्घाटन समारोहमा प्रिमियर गरिएको थियो।
पुण्ड्रनगर फिल्म सोसाइटी बोगराले आयोजना गरेको यो महोत्सव बोगराको मधुवन सिनेकम्प्लेक्समा तीन दिनसम्म चलेको थियो।
यो महोत्सवमा निर्णायकहरुमा नेपालबाट नेपाल इन्टरनेशनल कल्चरल फिल्म फेस्टिबलका अध्यक्ष सन्तोष सुवेदी सहित निर्माता मोहम्मद रकिबुल हसन, निर्देशक खण्डेकर सुमन, चलचित्रकर्मी अन्तु आजाद, छायांकार शेख राजिबुल इस्लाम, निर्माता राजिबुल हुसेन र जीवन शाहदत थिए ।
महोत्सवमा नेपालसहित भारत, रुस, सिंगापुर, स्पेनसहित बंगलादेशका देशका चलचित्रकर्मीहरु सहभागी थिए। महोत्सवमा आधा दर्जन अन्तरक्रिया तथा मास्टर क्लासहरु सञ्चालन गरिएको थियो। बंगलादेशमा भएका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव मध्य यो दोस्रो ठुलो महोत्सव भएको महोत्सव निर्देशक सुपिन बर्मनले समापन समारोहमा बताए। यस्तै महोत्सव अध्यक्ष एम. रहमान सागरले सरकारबाट कुनै पनि आर्थिक सहयोग नहुँदा पनि आफूहरुले महोत्सव गर्दै आएको बताए।
ALSO READ: ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करणकालागि फिल्म दर्ता खुल्ला
