
READ IN ENGLISH
Action-Packed ‘Saahu Ba’ Brings 380 Artists Together in Nepal’s Most Ambitious Web Series
नेपाली डिजिटल प्लेटफर्ममा ठूलो स्केलको वेब सिरिज ‘साहु बा’को ट्रेलर सार्वजनिक भएको छ। म्युजिक नेपाल र फ्रेम इन मोसनको संयुक्त प्रस्तुतिमा तयार भएको यो सिरिजले ट्रेलर सार्वजनिकसँगै दर्शकमाझ उत्सुकता बढाएको छ।
करिब १ मिनेट ४४ सेकेन्ड लामो ट्रेलरले सिरिजको कथा ‘क्राइम, एक्सन र रिभेन्ज’ वरिपरि घुम्ने स्पष्ट संकेत दिन्छ। ट्रेलरको सुरुवात र बीचमा देखिएको सेतो कागजको जहाजले कथामा लुकेको रहस्यलाई झल्काउँछ। यो बाल्यकालको स्मृति हो वा बदलाको संकेत, भन्ने जिज्ञासा दर्शकमा रहन्छ।
मुख्य पात्रका रूपमा विजु पार्की देखिएका छन्, जसको पात्र बदलाको आगोमा जलिरहेको युवकको रूपमा प्रस्तुत गरिएको छ। रगतले लतपतिएका दृश्यहरू, हातमा कागजको जहाज र तीव्र भावनात्मक अभिव्यक्तिले कथा गहिरो हुने संकेत गर्छ।
ट्रेलरमा कडा एक्सन, प्रहरी अनुसन्धान र पात्रबीचको द्वन्द्वलाई उच्चस्तरीय सिनेमाटोग्राफीमा देखाइएको छ। सडकमा गुडिरहेको गाडीमाथिको स्टन्ट, गोदामभित्रका लडाइँ र आगो तथा हतियार प्रयोगले सिरिजलाई हार्डकोर एक्सन शैलीमा प्रस्तुत गरेको छ।
नेपाली वेब सिरिजहरू सामान्यतया संवादमा केन्द्रित हुने भए पनि ‘साहु बा’ले एक्सनलाई प्राथमिकता दिएको देखिन्छ। यही कारण यसलाई नेपाली डिजिटल कन्टेन्टमा फरक स्वाद दिने प्रोजेक्टको रूपमा हेरिएको छ।
वेब सिरिज ‘साहु बा’को ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्
ट्रेलरको अन्त्यमा देखिएको रातो कुर्सीले शक्ति र सत्ताको संघर्षलाई संकेत गर्छ। त्यो कुर्सी कसको हो र त्यहाँ पुग्न कति संघर्ष र रक्तपात हुन्छ भन्ने नै सिरिजको मुख्य कथा बन्ने अनुमान गरिएको छ।
निर्देशक तथा लेखक सुजोय योङ का अनुसार ‘साहु बा’ केवल वेब सिरिज होइन, नेपाली डिजिटल क्षेत्रकै महत्वाकांक्षी प्रोजेक्ट हो। उनले करिब ३८० भन्दा बढी कलाकारलाई समेटिएको जानकारी दिएका छन्, जुन नेपाली वेब सिरिजमा दुर्लभ संख्या हो।
करीब तीन वर्षको मेहनतपछि तयार भएको २४ एपिसोडको यो सिरिजमा प्रियंका कार्की, नम्रता श्रेष्ठ, कविता नेपाली, सरिता गिरी, अमित शाह, प्रियंका चौधरी, हिना नगरकोटी लगायतका चर्चित कलाकारहरूको अभिनय रहेको छ।
छायांकन आयुषमान डी जोशी, संगम राई र अनिश तामाङले गरेका छन् भने सम्पादन रामप्रसाद चौधरीको रहेको छ। द्वन्द्व निर्देशन पेमा लामा र राजु तामाङले सम्हालेका छन्।
‘साहु बा’ आगामी १७ अप्रिल २०२६ (वैशाख ४) देखि प्रसारणमा आउनेछ। दर्शकले साँझ ६ बजेदेखि MOMO App मार्फत सबै एपिसोड हेर्न सक्नेछन् भने साप्ताहिक रूपमा Music Nepal को युट्युब च्यानलबाट पनि रिलिज गरिनेछ।
यो पनि पढ्नुहोस्: हराउँदै गएको मितेरी साइनो: ‘मितज्यू’ टिजरले उठायो पुरानो संस्कार
