प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति खुलासा पछि सेलिब्रिटी समर्थन, आलोचनालाई जवाफ

प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्किएको बहसबीच अभिनेत्री प्रियंका कार्की, रिचा शर्मा र रेजिना उप्रेतीले खुलेर समर्थन जनाएका छन्। उनीहरूले सम्पत्ति भ्रष्टाचारबाट नभएको र पारदर्शिता आफैंमा सकारात्मक कदम भएको बताएका छन्।


सार्वजनिक पदमा पुगेपछि सम्पत्ति विवरण सार्वजनिक गर्नु कानुनी दायित्व मात्रै होइन, पारदर्शिताको परीक्षण पनि हो। यही बहसको बीचमा प्रधानमन्त्री बालेन्द्र शाहको १९० तोला सुनसहितको पैत्रिक सम्पत्ति सार्वजनिक भएपछि सामाजिक सञ्जाल तातियो, आलोचना पनि भयो, समर्थन पनि।

यो विषयले कलाकार वृत्तमा समेत चर्चा पायो। मंगलबार आयोजित एक कार्यक्रममा अभिनेत्री रेजिना उप्रेती, प्रियंका कार्की र रिचा शर्मा खुलेर प्रधानमन्त्री शाहको पक्षमा उभिए।

रेजिना उप्रेतीले नेताहरू धनी भएर देशको सेवा गर्न आएको बताउँदै आलोचनाभन्दा सकारात्मक सोच आवश्यक रहेको बताइन्। उनका अनुसार, “जब नेताहरू पहिले नै आर्थिक रूपमा सक्षम हुन्छन्, तब उनीहरूलाई भ्रष्टाचार गर्नुपर्ने कुनै कारण हुँदैन,” भन्ने तर्क अघि सारिन्। उनले आलोचनाको लहरमा नबग्न आग्रह गर्दै यसलाई सकारात्मक दृष्टिले हेर्नुपर्ने बताइन्।

प्रियंका कार्कीले पनि त्यही धारणा दोहोर्याइन्। उनले १९० वा २०० तोला सुनको विषयलाई ठूलो मुद्दा नबनाउन आग्रह गर्दै, त्यो सम्पत्ति भ्रष्टाचारबाट नभएको स्पष्ट पारिन्। “कुनै पनि व्यक्तिले मेहनत गरेर पैसा कमाउन सक्छ। १० दिनमै यति ठूलो सम्पत्ति कमाउन सम्भव छैन,” भन्दै उनले प्रधानमन्त्रीमाथि लागेका आरोपहरूलाई अस्वीकार गरिन्।

रिचा शर्माले भने सम्पत्ति विवरण सार्वजनिक गर्नु आफैंमा सकारात्मक कदम भएको बताइन्। पारदर्शिता देखाउनु नेतृत्वको सबल पक्ष भएको उनको धारणा छ।

एकातिर सामाजिक सञ्जालमा आलोचनाको बाढी, अर्कोतिर कलाकारहरूको खुला समर्थन, प्रधानमन्त्री शाहको सम्पत्ति विवरणले अहिले देशको राजनीतिक र सामाजिक बहसलाई नयाँ मोड दिएको छ।

SUBSCRIBE 👉