नयाँ वर्ष २०८३ को पहिलो दिनमै अभिनेत्री पूजा शर्मा ले नयाँ फिल्मको घोषणा गर्दै दर्शकलाई सरप्राइज दिएकी छिन्। ‘रत्यौली’ नाम राखिएको यो फिल्म नाईटिङ्गेल इन्टरटेन्मेन्ट प्रा.लि. र पूजा शर्मा प्रोडक्सनको सहकार्यमा बन्नेछ।
फिल्मको सबैभन्दा चासोको कुरा, पूजा शर्मासँग पहिलो पटक विजय बराल को जोडी देखिनेछ। दुवै कलाकार पहिलो पटक एउटै पर्दामा देखिन लागेका हुन्, जसले दर्शकमाझ उत्साह थपेको छ।

मुस्कान ढकाल को निर्देशनमा बन्ने यो फिल्मका निर्माता सुरज आचार्य हुन्। लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय सुरज आचार्यले १०० भन्दा बढी नेपाली फिल्ममा प्रोडक्सन डिजाइनरको रूपमा काम गरिसकेका छन्। भारतीय फिल्महरू ‘उचाई’, ‘फर्जी’, ‘मिराई’, ‘टिसोन नाइडु’ र ‘दश का दम’मा उनले लाइन प्रोड्यूसरको अनुभव पनि बटुलेका छन्। यसअघि ‘मेरो लभ स्टोरी’ र ‘कर्मयोद्धा’मा सह–निर्माता तथा ‘वरमाला’मा निर्माता भइसकेका उनी अब ‘रत्यौली’ मार्फत मुख्य निर्माताको रूपमा अगाडि आएका हुन्।
सार्वजनिक पोस्टरले फिल्मको टोन झल्काउँछ। पोस्टरमा पूजा र विजय ‘रत्यौली’ नाँचमा रमाइरहेको देखिन्छ। पूजा दौरा–सुरुवाल र नेपाली टोपीमा देखिएकी छिन्, ओठमा जुँगासहितको लुक्सले पोस्टरलाई झन् आकर्षक बनाएको छ। यसले फिल्म हल्का, रमाइलो र मनोरञ्जनले भरिएको हुने संकेत दिन्छ।
फिल्मको कथा र अन्य विवरण भने अझै गोप्य राखिएको छ। तर पहिलो पटक पर्दामा देखिन लागेको पूजा–विजयको जोडीले ‘रत्यौली’लाई दर्शकका लागि पर्खाइको सूचीमा राख्ने पक्का छ।
यो पनि पढ्नुहोस्: मल्टिस्टार फिल्म ‘पाँच पाण्डव’मा नयाँ ट्विस्ट; कलाकार सुशील सिटौलाको प्रवेश
