कठिन मौसमबीच ‘जिरो डिग्री’को छायांकन पूरा, फरक भूमिकामा विजय बराल

विजय बराल मुख्य भूमिकामा रहेको डार्क कमेडी फिल्म ‘जिरो डिग्री’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। वर्षाको चुनौती र ३० घण्टासम्म पोखरा आसपासका क्षेत्रमा निरन्तर सुटिङ गर्दै फिल्मको ‘इण्ड क्लाप’ गरिएको हो।


डार्क कमेडी जनरामा तयार भइरहेको फिल्म ‘जिरो डिग्री’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। कास्कीको धिताल गाउँमा राजन भुसाल र प्रकाश घिमिरे को अन्तिम दृश्य खिच्दै फिल्मले ‘इन्ड क्ल्याप’ गरेको हो।

३५ दिनको तालिका बनाएर सुरु गरिएको सुटिङ अन्ततः ३७ दिनमा सम्पन्न भयो। पोखराको अर्मलाकोटबाट सुरु भएको छायांकन धिताल, घार्मी र बगरका मौलिक बस्तीहरूमा गरिएको थियो।

छायांकन सजिलो थिएन। लगभग हरेक दिन पानी परिरहेको अवस्थामा पनि टिमले काम रोकेन। अन्तिम चरणमा त ३० घण्टासम्म लगातार सुटिङ गरिएको निर्देशक आकास बराल बताउँछन्। “मौसम जस्तोसुकै भए पनि सेटमा हाँसो रोकिएन। त्यो ऊर्जा दर्शकसम्म पुर्‍याउन सके सफलता मिल्छ,” उनले भने।

फिल्मलाई सजन काफ्ले र आकास बरालले संयुक्त रूपमा निर्देशन गरेका हुन्। कथावस्तु पनि उनीहरूकै संयुक्त लेखनमा आधारित छ।

कथाले एक रोचक र व्यंग्यात्मक मोड समेट्छ। दूरदराज गाउँमा आमाबुवाको मृत्यु भएपछि विदेशमा रहेका सन्तान नआउन्जेल शवलाई सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ उक्लिनुपर्ने अवस्था। यही यात्रामा आउने असहज, रमाइला र अराजक घटनाहरूले फिल्मको कथा अघि बढ्छ।

मुख्य भूमिकामा विजय बराल देखिनेछन्, जसलाई यसपटक दर्शकले पूर्णतः फरक अवतारमा देख्नेछन्। निर्देशकले उनको पात्रबारे भने अझै गोप्य राखेका छन्।

फिल्ममा प्रकाश घिमिरे, राजन भुसाल, सनिशा भट्टराई, वसुन्धरा भुसाल, रमेश बुढाथोकी लगायतका अनुभवी कलाकारको बलियो लाइनअप छ।

प्राविधिक पक्ष पनि उत्तिकै मजबुत देखिन्छ। निशाल पौडेलको छायांकन, चानस पुन मगरको सम्पादन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङले फिल्मलाई फरक स्तर दिने अपेक्षा गरिएको छ।

मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको ‘जिरो डिग्री’लाई यस वर्षको दशैंअघि रिलिज गर्ने तयारी भइरहेको छ।


यो पनि पढ्नुहोस्: ‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ बिस्टसहित स्टार कास्टको इनर्जेटिक डान्स


SUBSCRIBE 👉