बाबुको सपना र छोराको संघर्ष कथा ‘रोल नं १’ मन छुने टिजर

विनोद पौडेलको निर्माणमा बनेको ‘रोल नं १’को टिजर रिलिज भएको छ, जसले नेपाली शिक्षा प्रणाली र छात्रवृत्ति संघर्षको यथार्थ देखाउँछ।


A Father’s Dream, A Son’s Struggle, Nepali Movie ‘Roll No. 1

निर्माता Binod Paudel को निर्माणमा तयार भएको बहुप्रतिक्षित नेपाली फिल्म ‘Roll No.1’को टिजर सार्वजनिक गरिएको छ। निर्माण पक्षले युट्युबमार्फत टिजर रिलिज गर्दै फिल्मको संवेदनशील कथावस्तुको झल्को दिएको हो।

सार्वजनिक टिजरले नेपाली समाजको एउटा कटु यथार्थ उजागर गर्छ, गरिब परिवारको सपना, संघर्ष र शिक्षा प्रणालीभित्रको दबाब। मौसमजस्तै छिनमै बदलिने जीवन, बाबुले आफ्ना सपनाहरू छोरामार्फत पूरा गर्ने चाहना, तर परिस्थिति र प्रणालीका कारण ती सपना अधुरै रहने पीडा टिजरमा देखाइएको छ।

विशेषगरी, सरकारी छात्रवृत्तिमा निर्भर विद्यार्थीहरूको कथा टिजरको केन्द्रमा छ। कक्षामा प्रथम हुनैपर्ने बाध्यता, र्याङ्किङको दबाब र त्यसले बालमनोविज्ञानमा पार्ने असरलाई निकै मार्मिक रूपमा प्रस्तुत गरिएको छ। “पहिलो नभए अवसर छैन” भन्ने सोचले कसरी धेरै प्रतिभाशाली विद्यार्थीहरू पछाडि पर्दैछन् भन्ने प्रश्न टिजरले उठाएको छ।


यहाँ हेर्नुहोस् : नेपाली फिल्म ‘रोल नं १’को टिजर


फिल्मले शिक्षा प्रणालीभित्रको असमानता मात्र होइन, परिवारको अपेक्षा र बालबालिकाको मानसिक दबाबलाई पनि उजागर गर्छ। बाबुको भरोसा र त्याग, छोराको प्रयास र असफलताको पीडाबीचको द्वन्द्व टिजरको मुख्य भाव हो।

यसअघि सार्वजनिक गीत र पोस्टरले चर्चा पाइसकेको ‘रोल नं १’ले “हरेक विद्यार्थीको कथा” भन्ने नारालाई केन्द्रमा राख्दै समाजको यथार्थ चित्रण गर्ने संकेत दिएको छ। टिजर हेर्दा यो फिल्म केवल मनोरञ्जन होइन, सामाजिक सन्देश बोकेको सशक्त कथा हुने देखिन्छ।

हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगहरूमा छायांकन गरिएको सिनेमा ‘रोल नं १’ जेठ १५ गते (गणतन्त्र दिवस)बाट प्रदर्शन हुँदैछ।


यहाँ हेर्नुहोस्: चलचित्र ‘रोल नं १’को मन छुने टाइटल गीत


जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छ । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।

निर्माता पौडेलका अनुसार यो चलचित्र नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शनमा ल्याइनेछ।

SUBSCRIBE 👉