‘कालो पोथी’लाई ३० हजार युरो


Min-Directorग्ल्यामर नेपाल, काठमाडौं । मीनबहादुर भामको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘कालो पोथी’ले जर्मनीको बर्लिन फिल्म फेस्टिभलमा ‘वल्र्ड सिनेमा फन्ड’ अन्तर्गत ३० हजार युरो (नेरु ३९ लाख) पाएको छ ।

४३ देशका १ सय २६ आवेदकहरुमध्येबाट नेपालको ‘कालो पोथी’सहित थाइल्यान्ड, घाना र कोलम्बियाका गरी चार फिल्मलाई निर्माण प्रक्रियामै सघाउन पैसा दिइएको हो । थाई र नेपाली फिल्मले ३०–३० हजार तथा घाना र कोलम्बियाली फिल्मले ४०–४० हजार युरो पाएका छन् । त्यस्तै फन्डले मेक्सिकन फिल्मलाई वितरण प्रक्रियामा सघाउन ५ हजार युरो दिएको छ ।

‘संसारका महत्वपूर्ण प्रोजेक्टहरुमध्येबाट छानिएर यो फन्ड पाउन सकेकोमा हामी निकै खुसी छौं, यो पुरस्कारले हाम्रो फिल्मको महत्वलाई अझ बढाइदिएको छ,’ निर्देशक भामले भने । मीनले यसअघि निर्देशन गरेको छोटो फिल्म ‘बाँसुल्ली’ सन् २०१२ मा इटालीको प्रसिद्ध भेनिस फिल्म फेस्टिभलमा छानिएको थियो ।

‘कालो पोथी’ले विदेशी पुरस्कार जितेको यो पहिलो होइन । यसले केही महिनाअघि स्वीजरल्यान्डको ‘भिजन सुद’ नामक ५० हजार फ्य्रान्क (नेरु ५० लाख) पनि जितिसकेको छ । स्वीजरल्यान्डको पुरस्कार पनि ‘कालो पोथी’को पटकथा हेरेरै प्रदान गरिएको हो । ‘नेपाली फिल्मको लागि यो ठूलो फड्को हो, बर्लिन फिल्म फेस्टिभलको प्रतिष्ठित पुरस्कार जित्नु भनेको ठूलो उपलब्धि हो,’ निर्माता छिरिङरितार शेर्पाले भने, ‘हामी सन् २०१५ को बर्लिन फिल्म फेस्टिभलमा प्रिमियर गर्नेगरी काम थाल्नेछौं ।’

नेपालको दुर्गम गाउँका दुई बालकहरुको लक्ष्य र उनीहरुले गर्ने यात्रामा आधारित फिल्मको कथाले दस वर्षे द्वन्द्वकालको परिवेशलाई समातेको छ । देवकी राई पनि निर्माता रहने ‘कालो पोथी’ मीनको पहिलो फिचर फिल्म हुनेछ । फिल्मको सुटिङ यसपालिकै दशैं अगाडि सुरु गर्ने योजना निर्माण समूहको छ ।

SUBSCRIBE 👉