सुकुम्वासी जीवन कथा बोकेको ‘आँखा: क्रलिङ क्रोज’ले जित्यो ह्युस्टन फिल्म फेस्टिभलमा डबल अवार्ड

जौन योञ्जन निर्देशित नेपाली फिल्म ‘आँखा: क्रलिङ क्रोज’ (Aankha: Crawling Crows)ले अमेरिकामा आयोजित प्रतिष्ठित वल्र्डफेस्ट ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा दुई रेमी अवार्ड जित्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाली सिनेमाको गौरव बढाएको छ। फिल्मले ‘विदेशी फिचर’तर्फ प्लेटिनम रेमी अवार्ड तथा ‘निर्देशन–क्राफ्ट’ विधामा गोल्ड अवार्ड जितेको हो।


नेपाली फिल्म ‘आँखा: क्रलिङ क्रोज’(Aankha: Crawling Crows)ले अन्तर्राष्ट्रिय मञ्चमा ठूलो सफलता हात पारेको छ। जौन योञ्जनद्वारा निर्देशित यस फिल्मले अमेरिकामा आयोजित प्रतिष्ठित ‘वल्र्डफेस्ट ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभल’मा दुई महत्वपूर्ण ‘रेमी अवार्ड’ जित्न सफल भएको हो।

आयोजक कमिटीले इमेलमार्फत फिल्मले दुई विधामा अवार्ड जितेको आधिकारिक जानकारी दिएको हो। फिल्मले ‘विदेशी फिचर’ विधामा उत्कृष्ट ठहरिँदै ‘प्लेटिनम रेमी अवार्ड’ जितेको छ भने ‘निर्देशन–क्राफ्ट’तर्फ ‘गोल्ड रेमी अवार्ड’ हात पारेको छ।

सन् १९६१ मा स्थापना भएको वल्र्डफेस्ट ह्युस्टन विश्वकै पुराना स्वतन्त्र चलचित्र महोत्सवमध्ये एक मानिन्छ। हलिउडका चर्चित निर्देशक स्टिभन स्पिलबर्ग, जर्ज लुकास, डेभिड लिन्च र आङ लीले समेत आफ्नो प्रारम्भिक करियरमा यही महोत्सवबाट रेमी अवार्ड प्राप्त गरेका थिए।

‘आँखा’को अन्तर्राष्ट्रिय सफलता भने नयाँ होइन। यसअघि फिल्मले ६२औँ एसिया प्यासिफिक फिल्म फेस्टिभलमा ‘उत्कृष्ट चलचित्र’को अवार्ड जितिसकेको छ।

फिल्मले सुकुम्वासी बस्तीमा बसोबास गर्ने सामान्य मानिसको जीवन, संघर्ष र यथार्थलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। फिल्ममा स्मिता लामिछाने, पशुपति राई, निशा अधिकारी, आरके मेहता, विजय बराल र बुद्धि तामाङ लगायत कलाकारको अभिनय रहेको छ।


यो पनि पढ्नुहोस्: दयाहाङ र सौगात सँग ‘मितज्यू’मा तेरिया मगरको विशेष भूमिका


SUBSCRIBE 👉