गरिमाको एक्सनपूर्ण ‘ठूली’ आउँदै


thuli
ग्ल्यामर नेपाल, काठमाडौं । अभिनेत्री गरिमा पन्तलाई पहिलोपटक एक्सनपूर्ण भूमिकामा प्रस्तुत गरिएको फिल्म ‘ठूली’ले आगामी शुक्रबारबाट अल नेपाल प्रदर्शन हुँदैछ । करिब एक महिना लामो फाइट सम्बन्धी प्रशिक्षण लिएपछि फिल्ममा फाइट खेलेकी गरिमाले फिल्मबाट आशा पनि राखेकी रहिछन् ।

‘पहिलोपटक फिल्ममा एक्सन भूमिकामा देखिँदैछु, निकै मेहनत पनि गरेकी छु ।’ राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गरिमाले भनिन् । फिल्मका द्वन्द्व निर्देशक सुरेन्द्र शाहले पनि गरिमाले आफुले सिकाएको स्टेप अनुसार फाइट गरेकोेमा सन्तुष्ट व्यक्त गरे । फिल्मका प्रस्तुतकर्ता, लेखक तथा निर्देशक एभरेष्ट सूर्य बोहोराले फिल्मको रिलिजका लागि हलको व्यवस्थापनको काम भइरहेको जानकारी दिए । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठले निर्माण गरेको फिल्म ‘कोहिनूर’का कारण प्राय सबै हलहरु हाउसफूल भइरहेको बेला आगामी शुक्रबारबाट रिलिज हुने फिल्महरुले प्रदर्शनका लागि हल पाउने या नपाउने अन्यौल बढिरहेको बेला निर्देशक बोहोराले हल मिलाउन आफुहरु परामर्श गरिरहेको जानकारी दिए ।

फिल्ममा जीवन लुँइटेल, एभरेष्ट सूर्य बोहोरालगायतको अभिनय रहेको छ । पुष्कर पन्त निर्माता र सुनिल बस्नेत कार्यकारी निर्माता रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन, बसन्त श्रेष्ठको कोरियोग्राफी, बसन्त सापकोटाको संगीत र शेरबहादुर लामाको छायांकन रहेको छ । बोहोराले यसअघि ‘कान्छा’, ‘अग्नीपरीक्षा’ र ‘मुटु’ फिल्म बनाईसकेका छन् ।

SUBSCRIBE 👉