
यश राज फिल्म्सको नयाँ स्पाइ युनिभर्स फिल्म ‘अल्फा’ को अफिसियल टिजर सार्वजनिक भएको छ। टिजर बाहिरिएसँगै आलिया भट्टको दमदार एक्सन अवतार र बबी देओलको गम्भीर भूमिकाले बलिउड दर्शकबीच ठूलो चर्चा पाएको छ।
टिजरमा आलिया भट्टको पात्रलाई १८ वर्षको जन्मदिनपछि खतरनाक मिसनमा प्रवेश गराइन्छ। बाल्यकालदेखि गरिएको तालिम केवल सामान्य जीवनका लागि नभई ठूलो मिशनका लागि थियो भन्ने संकेत बबी देओलको पात्रले दिन्छ।
यश राज फिल्म्सका अनुसार अल्फा मा आलिया भट्ट, शरवरी, अनिल कपूर र बबी देओल मुख्य भूमिकामा छन्। फिल्मका निर्देशक शिव रवैल हुन् भने निर्माता आदित्य चोपडा हुन्। फिल्म ३ जुलाई २०२६ मा विश्वव्यापी रूपमा प्रदर्शनमा आउनेछ।
यो फिल्म YRF Spy Universe को नयाँ अध्याय हो। यश राज फिल्म्सले यसलाई भारतको पहिलो महिला-नेतृत्वको पूर्ण एक्सन फिल्मका रूपमा प्रस्तुत गरेको छ। फिल्ममा आलिया र शरवरीले बबी देओलको पात्रसँग भिड्ने कथा देखाइनेछ।
ट्रेलर हेर्नुहोस्: के आलिया भट्ट अब बलिउडकी नयाँ एक्सन स्टार हुन्?
टिजरमा आलियाको एक्सन, फाइट सिक्वेन्स र लुकले धेरैको ध्यान तानेको छ। उनलाई यसअघि भावनात्मक र अभिनयप्रधान भूमिकामा मन पराएका दर्शकले अब उनी एक्सन स्टारका रूपमा कस्तो देखिन्छिन् भन्ने चासो राखेका छन्।
बबी देओलको भूमिका पनि टिजरको प्रमुख आकर्षण बनेको छ। उनको गम्भीर संवाद र स्क्रिन प्रेजेन्सले फिल्मको टोन अझै गहिरो बनाएको छ।
यद्यपि, टिजर सार्वजनिक भएपछि शरवरीलाई नदेखाइएको विषयमा फ्यानहरूले सामाजिक सञ्जालमा प्रश्न उठाएका छन्। केही दर्शकले उनलाई अर्को टिजर वा ट्रेलरमा ठूलो रूपमा प्रस्तुत गर्न लागिएको हुनसक्ने अनुमान गरेका छन्।
एक था टाइगर, टाइगर जिन्दा है, वार, पठान र टाइगर ३ पछि YRF Spy Universe ले अब अल्फा मार्फत महिला एक्सन हिरोको नयाँ अध्याय सुरु गर्दैछ।
यो पनि पढ्नुहोस्: रोमान्टिकभन्दा परिपक्व भूमिकामा रमाउँदै अभिनेत्री रेनुनाथ योगी
