एक्सन टचसहित आउँदैछ कृषाको ‘पारस’, फ्लोरमा जानुअघि फिल्म वृत्तमा चर्चा

कृषा चौलागाईँको तेस्रो निर्देशकीय चलचित्र ‘पारस’ असार १५ गतेबाट फ्लोरमा जाने भएको छ। निखिल उप्रेती, निरुता सिंह, सुशील श्रेष्ठ र जसिता गुरुङ मुख्य भूमिकामा छन्।


निर्देशक कृषा चौलागाईँको नयाँ चलचित्र ‘पारस’ असार १५ गतेबाट फ्लोरमा जाने भएको छ। चलचित्रको छायांकन काठमाडौं आसपासका क्षेत्रमा हुनेछ। फिल्म निर्माण टिमले कलाकारहरूको फेस टेस्ट गरेको छ। बालाजु ल्याबमा पात्रअनुसार कलाकारहरूको लुक्स हेरिएको हो।

कृषाले चलचित्रको अधिकांश पूर्वतयारी सकिएको बताइन्। उनका अनुसार अब टिम छायांकनका लागि तयार छ। ‘पारस’ केपी फिल्म्सको ब्यानरमा निर्माण हुँदैछ। चलचित्रमा निखिल उप्रेती, रमेश उप्रेती, निरुता सिंह, सुशील श्रेष्ठ, जसिता गुरुङ र पुस्कर गुरुङ अनुबन्धित छन्। अन्य कलाकारको छनोट प्रक्रिया जारी छ।

चलचित्रको पटकथा भारतीय लेखक सचिन लादियाले तयार पारेका हुन्। छायांकन निर्देशकको जिम्मेवारी पुरुषोत्तम प्रधानले सम्हाल्नेछन्। क्यामेरा टिममा मानकृष्ण महर्जन र शेखरबहादुर तामाङ रहनेछन्। केही साताअघि चलचित्रको पहिलो गीत रेकर्ड भएको थियो। गीतमा नेपाल आइडल सिजन ३ विजेता सज्जा चौलागाईँले स्वर दिएकी छन्। गीतमा कोशिश क्षेत्रीको शब्द तथा संगीत छ।

स्टारकास्ट र एक्सन टिमका कारण ‘पारस’प्रति चासो बढेको छ। कृषाको तेस्रो निर्देशन भएकाले चलचित्रलाई उद्योगले पनि नजिकबाट हेरिरहेको छ।

चलचित्रको प्रोडक्सन म्यानेजरमा रविन बखेल रहनेछन्। द्वन्द्व निर्देशन शुक्रराज शाहले गर्नेछन्। सत्यम राणा र समीर मियाँले भीएफएक्स सम्हाल्नेछन्। सरोज बुढाथोकी मेकअप आर्टिस्टका रूपमा रहनेछन्। मुख्य सहायक निर्देशकमा कुलदीप शर्मा छन्। चलचित्रको नृत्य निर्देशन कविराज गहतराजले गर्नेछन्। रेनिस फागो कलरिस्ट रहनेछन्। पब्लिसिटी तथा पोस्टर डिजाइनको जिम्मेवारी राकेश दाहालले पाएका छन्। कालाचरणले पृष्ठभूमि संगीत तयार गर्नेछन्। गीताको गुरायाले मिक्सिङ सम्हाल्नेछिन्।


यो पानो पढ्नुहोस्: लोकदोहोरीका स्टार पशुपति शर्मा अब ठूलो पर्दामा, ‘तीन तिघ्रे, क्या बिग्रे’बाट फिल्म अभिनयमा डेब्यु गर्दै


SUBSCRIBE 👉