
Barsha Raut | Jitu Nepal | Priyanka Karki
चलचित्र ‘आई एम जितबहादुर’ रिलिजको संघारमा आइपुग्दा फिल्मको चर्चा मात्र होइन, कलाकारबीचको प्रमोशन विवादले पनि मनोरञ्जन बजार तताएको छ। फिल्मका अभिनेता तथा निर्माता जितु नेपाल अहिले चलचित्रको प्रचारप्रसारलाई लिएर निकै निराश देखिएका छन्।
मुख्य भूमिकामा रहेका अभिनेत्रीहरू प्रियङ्का कार्की र वर्षा राउतले अपेक्षा अनुसार प्रमोशनमा समय नदिएको भन्दै जितुले सार्वजनिक रूपमै गुनासो पोखेका छन्। उनले एक टेलिभिजन अन्तर्वार्तामा दुवै अभिनेत्रीको नाम नै लिएर आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए।
जितुको भनाइमा, कलाकारले लाखौँ रुपैयाँ पारिश्रमिक लिएर फिल्ममा काम गरेपछि दर्शकसम्म चलचित्र पुर्याउने प्रमुख माध्यम मानिने प्रमोशनमा पनि साथ दिनुपर्छ। उनको अभिव्यक्तिले फिल्म रिलिजअघि नै टिमभित्र असन्तुष्टि रहेको संकेत गरेको छ।
🎥‘आई एम जितबहादुर’को इमोशनल ट्रेलर हेर्नुहोस्।
तर, जितुको गुनासोपछि अभिनेत्री प्रियङ्का कार्कीले पनि कडा प्रतिक्रिया दिएकी छन्। प्रियङ्काले भनेकी छन्, “कलाकारलाई चलचित्र कन्ट्रयाक्ट साइन गराउने बेलामा प्रमोशनमा जाने भन्ने लिखित सम्झौता हुँदैन।”
प्रियङ्काको यो भनाइमा अर्की अभिनेत्री वर्षा राउतले पनि समर्थन जनाएकी छन्। यससँगै ‘आई एम जितबहादुर’को प्रमोशन विवाद अझ चर्चामा आएको छ।
यो चलचित्र असार ५ गतेबाट प्रदर्शनमा आउँदैछ। रिलिजअघि नै यस्तो तनाव देखिएपछि ‘आई एम जितबहादुर’ले दर्शकको मन जित्न सक्ला कि नसक्ला प्रतीक्षाको बिषय बनेको छ।
