विनयराज पौडेलको डेब्यु निर्देशन ‘अक्षरा’को छायांकन सकियो, भदौ २६ मा प्रदर्शन तयारी

नेपाली चलचित्र ‘अक्षरा’को छायांकन सकिएको छ। विनयराज पौडेलको निर्देशनमा बनेको चलचित्रले ३७ दिनमा सम्पूर्ण सुटिङ पूरा गरेको हो। सुशील सिटौला, न्यान्सी खड्कालगायत कलाकारको अभिनय रहेको चलचित्र भदौ २६ गते प्रदर्शनमा आउने तयारीमा छ।


नेपाली चलचित्र ‘अक्षरा’को छायांकन पूरा भएको छ। विनयराज पौडेलको निर्देशनमा निर्माण भइरहेको चलचित्रको सम्पूर्ण छायांकन पूर्व निर्धारित तालिकाअनुसार ३७ दिनमै सकिएको हो।

दर्जनौँ नेपाली चलचित्रमा सहायक निर्देशकका रूपमा अनुभव बटुलेका विनयराज पौडेल ‘अक्षरा’मार्फत स्वतन्त्र निर्देशकका रूपमा डेब्यु गर्दैछन्।

निर्देशक पौडेलले कलाकार तथा प्राविधिक टिमको कडा मिहिनेत, अनुशासन र सहकार्यका कारण तोकिएकै समयमा छायांकन सम्पन्न गर्न सफल भएको बताए। उनले सहज रूपमा सुटिङ पूरा गराउन सहयोग गर्ने सम्पूर्ण टिमप्रति आभार व्यक्त गरेका छन्।

छायांकन समापनअघि निर्माण टोलीले गत सोमबार तीज पर्वलाई लक्षित गर्दै तयार गरिएको गीत ‘नाँचौं न बरि लै’को छायांकन गरेको थियो। गीतमा सुरेन्द्र रानाको शब्द, कर्णराज गिरीको संगीत र गायिका समीक्षा अधिकारीको स्वर रहेको छ।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको चलचित्रमा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको मुख्य अभिनय रहेको छ। चलचित्रमा बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना पनि देखिनेछन्।

चलचित्रका निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना हुन्। कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन्। चलचित्रको कथा निर्माता उग्रसेन ढुङ्गानाले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले तयार पारेका छन्।

चलचित्रमा दिपेन बस्न्यातको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ। त्यस्तै, मदन न्यौपानेले श्रृंगार, प्रार्थना भट्टराईले भेषभूषा र सुमन काफ्लेले निर्माण व्यवस्थापनको जिम्मेवारी सम्हालेका छन्। मुख्य सहायक निर्देशकमा दिवस विक्रम बोहोरा छन् भने सहायक निर्देशकका रूपमा मनोज बोहोरा र सौरभ शाह रहेका छन्।

राकेश दाहालले पोस्टर डिजाइन गरेको यो चलचित्र आगामी भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा छ। चलचित्रलाई नेशनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्नेछन्।

SUBSCRIBE 👉