
Paul Shah and Chandra Panta
निर्देशक चन्द्र पन्त र अभिनेता पल शाहको सहकार्य अब तेस्रो फिल्मसम्म पुगेको छ। फिल्म ‘आ बाट आमा २’ को पहिलो चरणको छायांकन सकिएलगत्तै निर्देशक पन्तले पललाई आफ्नो नयाँ, हालसम्म नाम तय नभएको फिल्मका लागि अनुबन्ध गरेका छन्।
निर्देशक पन्तका अनुसार अहिलेका लागि नयाँ फिल्ममा पल शाहलाई मात्र फाइनल गरिएको छ। फिल्मको नाम, अन्य कलाकार तथा प्राविधिक टोलीको विवरण भने निर्माण पक्षले क्रमशः सार्वजनिक गर्ने तयारी गरेको छ।
“अहिले तेस्रो फिल्मका लागि पल शाहलाई मात्र अनुबन्ध गरेका छौँ। यो हाम्रो तेस्रो सहकार्य हो। अन्य कलाकार तथा प्राविधिकहरूको नाम भने बिस्तारै सार्वजनिक गर्दै जानेछौँ,” निर्देशक पन्तले भने।
पन्तले ‘आ बाट आमा २’ को सुटिङ लगभग सकिएको जानकारी दिँदै अब फिल्म डबिङ प्रक्रियामा प्रवेश गर्ने बताए। नयाँ फिल्मको हकमा भने सबै कलाकार तथा प्राविधिक टोली फाइनल भएपछि मात्र छायांकनको औपचारिक घोषणा गरिने उनको भनाइ छ।
निर्देशक पन्त र पल शाहको सहकार्य गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’ बाट सुरु भएको थियो। पहिलो सहकार्य नै सफल बनेपछि यो जोडीप्रति दर्शक र निर्माता दुवैको विश्वास बढेको देखिन्छ। उक्त फिल्मले घरेलु बक्स अफिसमा १३ करोड रुपैयाँभन्दा बढीको व्यापार गर्दै निर्मातालाई सुरक्षित बनाएको थियो।
उनीहरूको दोस्रो सहकार्य ‘आ बाट आमा २’ आगामी असोज ३० गतेदेखि प्रदर्शनमा आउँदैछ। नेपालीहरूको महान् चाड बडादसैँलाई लक्षित गर्दै प्रदर्शन गर्न लागिएको फिल्मप्रति निर्माण पक्ष उत्साहित देखिएको छ।
प्रदर्शनअघि नै ‘आ बाट आमा २’ को अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो माग देखिएको छ। फिल्मको जापान प्रदर्शन अधिकार ‘आर एन्ड बी इन्टरटेनमेन्ट’ ले खरिद गरेको छ। यसअघि अमेरिका र क्यानडाको प्रदर्शन अधिकार ‘डोको फिल्म्स’ ले महँगो रकममा खरिद गरिसकेको छ।
अमेरिका, क्यानडा र जापानजस्ता बजारमा प्रदर्शन अधिकार समयमै बिक्री हुनुले वैदेशिक बजारमा फिल्मप्रति वितरकको चासो बलियो रहेको संकेत गर्छ।
आर्या इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको ‘आ बाट आमा २’ मा पल शाह, मलिका महत, आकाश श्रेष्ठ, रिस्ता गुरुङ, निकिता आचार्य, सबिन श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित बिष्ट, नरेन खड्का र दिलिप अखेडाको मुख्य भूमिका छ।
निर्देशक पन्तकै लेखन तथा पटकथा रहेको फिल्मको प्रोडक्सन म्यानेजर करणसिंह रसाली हुन्। ‘दसैँको जमरा र आमाको पर्खाइको कथा’ स्लोगन राखिएको फिल्म पारिवारिक तथा भावनात्मक कथावस्तुमा आधारित रहेको बुझिन्छ।
यो पनि पढ्नुहोस्: सरोज पौडेल निर्देशित ‘सिन्दुरे जात्रा’ मंसिर ४ मा दर्शकमाझ आउँदै
