प्रदर्शनको तयारीमा – जेनजी आन्दोलनको पीडा र युवा आवाज बोल्ने फिल्म ‘चंगुल’

जेनजी आन्दोलन, भ्रष्टाचारविरुद्धको भावना र युवाको चेतनालाई पर्दामा उतारिएको नेपाली चलचित्र ‘चंगुल’ भदौ १९ गतेदेखि प्रदर्शनमा आउँदैछ। मालती कार्की निर्मित तथा राम गौतम निर्देशित चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेश कुमार राई, आशा बिसी, स्वस्तिका लामिछाने लगायतका कलाकारहरूको अभिनय रहेको छ।


जेनजी आन्दोलन, त्यसअघि देखिएको सामाजिक–राजनीतिक अवस्था र आन्दोलनपछिको युवा जागरणलाई चित्रण गरिएको नेपाली चलचित्र ‘चंगुल’ भदौ १९ गतेदेखि प्रदर्शनमा आउने भएको छ।

मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा तयार भएको चलचित्रले भ्रष्टाचारका कारण थिलथिलो बनेको देश, त्यसबाट जन्मिएको असन्तुष्टि र परिवर्तनका लागि युवामा देखिएको चेतनालाई पर्दामा उतार्ने प्रयास गरेको छ।

निर्माता मालती कार्कीका अनुसार गत वर्ष भदौ २३ र २४ गते भएको आन्दोलन तथा सोही आन्दोलनमा ज्यान गुमाएका जेनजी आन्दोलनका सहिदहरूको सम्झनास्वरूप चलचित्रलाई भदौ १९ गते रिलिज गर्न लागिएको हो।

चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेश कुमार राई, आशा बिसी, स्वस्तिका लामिछाने लगायतका कलाकारहरूको अभिनय रहेको छ। बालकलाकारका रूपमा रिम्शा कार्की देखिनेछिन्।

चलचित्रका गीतमा विपिन आचार्य र नन्दनी अधिकारीको संगीत रहेको छ। त्यस्तै, द्वन्द्व निर्देशन देव महर्जनले गरेका छन् भने छायाङ्कन तथा सम्पादन दीपेन्द्र बस्न्यातले गरेका छन्।

सामाजिक यथार्थ, भ्रष्टाचारविरुद्धको आवाज र युवाको चेतनालाई केन्द्रमा राखेर निर्माण गरिएको ‘चंगुल’ नेपाली दर्शकका लागि समसामयिक विषयवस्तु बोकेको चलचित्रका रूपमा प्रस्तुत हुँदैछ।

SUBSCRIBE 👉