
नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित आयोजना गरिएको ‘PWXM: Wrestle Castle’ ललितपुरमा भव्य रूपमा सम्पन्न भएको छ। नखिपोट युथ क्लबको कभर्ड हलमा आयोजित कार्यक्रममा उल्लेख्य दर्शक उपस्थितिका बीच अन्तर्राष्ट्रिय स्तरका रेस्लिङ प्रतिस्पर्धा, नेपाली र जापानी खेलाडीहरूको प्रदर्शन तथा सांगीतिक प्रस्तुति सम्पन्न भएको हो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपाल आएका विश्वप्रसिद्ध जापानी रेस्लिङ लेजेन्ड तथा WWE Hall of Famer तात्सुमी फुजिनामीले नेपाली दर्शकबाट पाएको माया, समर्थन र उत्साहप्रति खुसी व्यक्त गरेका छन्। जापानी प्रो–रेस्लिङका सम्मानित नाममध्ये एक मानिने फुजिनामीको नेपाल आगमनलाई आयोजकले नेपाली व्यावसायिक रेस्लिङका लागि ऐतिहासिक क्षणका रूपमा लिएको छ।
फुजिनामीसँगै जापानबाट आएका लेओना फुजिनामी, हरु योशिमुरा, हिरोशी मिहारा, काजुहिरो टामुरा, यासुशी मियामोटो र ह्योउ ओगवालगायतका रेस्लरहरूले नेपाली खेलाडीहरूसँग प्रतिस्पर्धा गर्दै दर्शकलाई रोमाञ्चक अनुभव दिलाएका थिए। उनीहरूको प्रदर्शनले नेपाली दर्शकलाई अन्तर्राष्ट्रिय प्रो–रेस्लिङको ऊर्जा, शैली र प्रतिस्पर्धात्मक माहोल प्रत्यक्ष अनुभव गर्ने अवसर दियो।
नेपाली टोलीको नेतृत्व चर्चित र्यापर तथा व्यावसायिक रेस्लर बुलेट फ्लो अर्थात् थापाकाजीले गरेका थिए। त्यस्तै, जोन ब्रीज र लिजार्ड किङ्गलगायतका रेस्लरहरूको प्रदर्शनले पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाएको आयोजक पक्षले जनाएको छ। नेपाली रेस्लरहरूको सहभागिताले देशभित्र व्यावसायिक रेस्लिङप्रतिको रुचि र सम्भावना अझ स्पष्ट रूपमा देखाएको छ।
रेस्लिङसँगै सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो। खेल, संगीत र लाइभ मनोरञ्जन एउटै मञ्चमा प्रस्तुत हुँदा हलमा उपस्थित दर्शकको उत्साह उल्लेखनीय देखिएको थियो। आयोजकका अनुसार दर्शकको सक्रिय सहभागिता र समर्थनले कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।
पिग ई प्रोडक्सनको प्रस्तुति तथा नखिपोट युथ क्लबको सह–आयोजनामा सम्पन्न कार्यक्रमका निर्देशक तकाशी ताकेइ, टक बिष्टले ‘PWXM: Wrestle Castle’ को सफलताले नेपालमा अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक रेस्लिङ आयोजना गर्ने सम्भावना अझ बलियो भएको बताए।
आयोजकका अनुसार यो कार्यक्रम केवल मनोरञ्जनात्मक इभेन्ट मात्र नभई नेपाल र जापानबीच खेल तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने प्रयास पनि हो। यसले नेपाली रेस्लरहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता देखाउने अवसर प्रदान गरेको छ भने भविष्यमा यस्ता कार्यक्रममार्फत नयाँ प्रतिभा उत्पादन र अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने ढोका खोल्ने अपेक्षा गरिएको छ।
तात्सुमी फुजिनामीजस्ता विश्व रेस्लिङका लेजेन्डको उपस्थितिले ‘PWXM: Wrestle Castle’ लाई नेपाली रेस्लिङ र मनोरञ्जन क्षेत्रमा सम्झनलायक इभेन्ट बनाएको छ।
