‘पार्वती’ डबिङमा दीपाश्री उत्साहित, फिल्म सोचेभन्दा उत्कृष्ट बनेको प्रतिक्रिया

नीता ढुङ्गाना अधिकारी निर्देशित चलचित्र ‘पार्वती’को डबिङ धमाधम भइरहेको छ। अभिनेत्री दीपाश्री निरौलाले आफ्नो भागको डबिङ पूरा गर्दै फिल्म सोचेभन्दा राम्रो बनेको प्रतिक्रिया दिएकी छन्।


चलचित्र ‘पार्वती’ प्रदर्शनको तयारीतर्फ अघि बढिरहँदा यसको डबिङ कार्य धमाधम भइरहेको छ। ‘नीता फिल्मस्’ को ब्यानरमा निर्माण भइरहेको फिल्ममा मुख्य भूमिकामा देखिएकी अभिनेत्री दीपाश्री निरौलाले आफ्नो भागको डबिङ पूरा गरेकी छन्।

डबिङ पूरा गरेपछि दीपाश्रीले फिल्म आफूले सोचेभन्दा पनि राम्रो बनेको प्रतिक्रिया दिएकी छन्। फरक शैली, भावनात्मक प्रस्तुति र मन छुने पटकथाका कारण फिल्मले आफूलाई प्रभावित बनाएको उनको भनाइ छ। उनी फिल्मको अन्तिम स्वरूपलाई लिएर उत्साहित देखिएकी छन्।

फिल्मकी कथाकार तथा निर्देशक नीता ढुङ्गाना अधिकारी पनि डबिङ चरणमा निकै आशावादी देखिएकी छन्। उनले आफ्नो कल्पनाभन्दा राम्रो फिल्म बन्दै गएको बताउँदै दीपाश्री निरौला लगायत सम्पूर्ण कलाकार तथा प्राविधिक टिमप्रति आभार व्यक्त गरेकी छन्।

‘पार्वती’मा निर्देशक नीता स्वयंका साथै दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेल लगायतका कलाकारको अभिनय रहेको छ। सामाजिक तथा भावनात्मक कथावस्तु बोकेको भनिएको फिल्मले पारिवारिक दर्शकलाई लक्षित गर्ने संकेत दिएको छ।

हरिहर अधिकारी निर्माता रहेको फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। शंकर पाण्डे कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजरको भूमिकामा छन्। सुदिप बरालको छायांकन, साहिल खानको सम्पादन र रोयल भिमसेनको पोस्टर डिजाइन रहेको फिल्मको निर्माण पक्षले पोस्ट–प्रोडक्सनलाई तीव्रता दिएको छ।

नीता फिल्मस् यसअघि ‘ह्रस्वदीर्घ’ निर्माणका कारण चर्चामा आएको थियो। त्यही ब्यानरबाट तयार भइरहेको ‘पार्वती’लाई निर्माण टिमले आफ्नो नयाँ र महत्त्वपूर्ण प्रस्तुति रूपमा अघि सारेको छ।

फिल्म आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ।