
ब्लकबस्टर फिल्म ‘केजीएफ’ मार्फत ‘गरुडा’को उपनामले चर्चित बनेका कलाकार रामचन्द्र राजुले नेपाली दर्शकलाई विशेष संदेश पठाएका छन्। उनले भिडिओ संदेशमार्फत आफू अभिनित पौराणिक ड्रामा फिल्म ‘नागबन्धम’ नेपालमा प्रदर्शनमा आएको जानकारी गराउँदै दर्शकलाई हलमा पुगेर फिल्म हेर्न आग्रह गरेका हुन्।
नेपालमा क्यापिटल वर्ल्डमार्फत प्रदर्शनमा आएको यो फिल्मलाई राजुले ‘लार्जर–द्यान–लाइफ’ सिनेमाटिक अनुभव दिने फिल्मका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार फिल्मले हिमालयको रहस्यमय गहिराइमा लुकेको भगवान् अनन्त पद्मनाभस्वामीको अमूल्य खजाना र श्रीरङ्गापुरम् मन्दिरमा रहेको ऐतिहासिक ‘ब्रह्म कमल’ अर्थात् सुनौलो फूलको रहस्यमय संसारलाई भव्य शैलीमा प्रस्तुत गरेको छ।
भिडिओ संदेशमा राजुले भनेका छन्, ‘हाम्रो फिल्म नेपालमा प्रदर्शनरत छ। यसले तपाइँलाई हिन्दु माइथोलोजीका बारेमा जानकारी गराउँदै भव्य र सुन्दर कथा प्रस्तुत गरेको छ। यसमा एउटा फिल्ममा चाहिने सबै पक्ष छ, त्यसैले यसलाई हेरेर मनोरन्जन लिनुस्।’
फिल्ममा रामचन्द्र राजुले खलनायकको भूमिका निर्वाह गरेका छन्। अभिषेक नामाको लेखन तथा निर्देशन रहेको फिल्ममा मुख्य पात्र रुद्रको भूमिकामा विराट कर्ण देखिएका छन्। रुद्रलाई भगवान् महादेव अर्थात् शिवको शक्तिशाली र उग्र स्वरूपका रूपमा प्रस्तुत गरिएको छ। कथामा उनी आफ्नो समुदाय र धार्मिक सम्पदालाई दुष्ट शक्तिबाट जोगाउन जीवन नै दाउमा लगाएर संघर्ष गर्छन्।
फिल्ममा विराट कर्णसँगै नभा नतेश र ऐश्वर्या मेनन मुख्य अभिनेत्रीका रूपमा देखिएका छन्। त्यस्तै, चर्चित कलाकार महेश माञ्जरेकर, जगपति बाबु, मुरली शर्मा र ऋषभ साहनीको पनि फिल्ममा महत्त्वपूर्ण भूमिका रहेको छ।
एनआईके स्टुडियो र अभिषेक पिक्चर्सको ब्यानरमा बनेको फिल्मलाई किशोर अन्नपुरेड्डी र निशिता नागिरेड्डीले निर्माण गरेका हुन्। निर्माण पक्षका अनुसार फिल्मले पौराणिक कथालाई सामाजिक, राजनीतिक तथा साम्प्रदायिक विषयसँग जोडेर प्रस्तुत गरेको छ। हिन्दु धर्म, पौराणिक कथा र भव्य दृश्यात्मक प्रस्तुति मन पराउने दर्शकका लागि ‘नागबन्धम’ विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।
