
नेपाली सांगीतिक क्षेत्रमा ‘समकालीन’ ब्यान्डले आफ्नो पहिलो गीत ‘लाहुर’ सार्वजनिक गर्दै सांगीतिक यात्रा सुरु गरेको छ। निराशा, संघर्ष र आशाका भावनालाई एउटै कथामा जोडेको गीतले अवसरको खोजीमा घर र परिवारबाट टाढिन बाध्य नेपालीहरूको अनुभूतिलाई प्रस्तुत गर्ने प्रयास गरेको छ।
ब्यान्डका अनुसार ‘लाहुर’ केवल पहिलो गीत मात्र होइन, संगीतप्रतिको उनीहरूको लामो प्रेम, संघर्ष र अनिश्चितताबाट जन्मिएको सिर्जना हो। एक समय संगीतमा अन्तिमपटक आफ्नो मनको भावना पूर्ण रूपमा पोख्ने उद्देश्यले तयार गरिएको यही गीत अन्ततः ब्यान्डका लागि नयाँ सुरुवात बनेको सदस्यहरूले बताएका छन्।
गीतको भावनात्मक पृष्ठभूमिमा निराशाबीच पनि बाँकी रहने आशा र कठिन परिस्थितिसँग जुध्दै अगाडि बढ्ने मानवीय चाहना देखिन्छ। ‘लाहुर’ शीर्षकले घरबाट टाढा जानुपर्ने बाध्यता, अधुरा सपना र राम्रो भविष्यको खोजीसँग जोडिएका नेपाली समाजका परिचित अनुभूतिलाई संकेत गर्छ।
डेब्यु गीत सार्वजनिक भएसँगै समकालीनले आगामी दिनमा थप मौलिक र गुणस्तरीय सांगीतिक सिर्जना श्रोतामाझ ल्याउने तयारी भइरहेको जनाएको छ।
ब्यान्डले आफ्ना श्रोता, शुभेच्छुक र समर्थकप्रति आभार व्यक्त गर्दै भनेको छ, “हाम्रो यो यात्रालाई यहाँसम्म ल्याउनुहुने सम्पूर्ण शुभेच्छुक, श्रोता र समर्थकहरूको माया र साथप्रति हामी कृतज्ञ छौँ। तपाईंहरूको यही विश्वासले हाम्रो आगामी सांगीतिक यात्रा अझ अगाडि बढ्ने कुरामा हामी पूर्ण विश्वस्त छौँ।”
