
दिव्यदेव पन्त, झरना थापा र सुहाना थापा अभिनीत चलचित्र ‘बाः एक योद्धा’को भावुक टिजर सार्वजनिक
चलचित्र ‘बाः एक योद्धा’को मर्मस्पर्शी टिजर सार्वजनिक भएको छ। रगताम्य अवस्थामा घर फर्किएका एक बाबु र अचानक तहसनहस भएको उनको परिवारको कथा प्रस्तुत गर्ने टिजरले भावनात्मक पारिवारिक कथाको संकेत गरेको छ।
‘एउटा सानो संसार थियो हाम्रो, सब तहसनहस भयो’ भन्ने संवादबाट सुरु हुने टिजरमा मुख्य अभिनेता दिव्यदेव पन्तलाई जुत्तादेखि टाउकोसम्म रगतले लत्पतिएको अवस्थामा देखाइएको छ। उनको अवस्था र हिँडाइले उनी कुनै ठूलो घटनाबाट फर्किएको तथा परिवारको सदस्य गुमाएको हुन सक्ने संकेत गर्छ।
दिव्यदेव घरअगाडि पुगेपछि उनको स्मृतिमा विगतका दृश्यहरू एकपछि अर्को गर्दै पल्टिन्छन्। ती दृश्यमा उनको सुखी र सुन्दर परिवार देखिन्छ। तर, केही क्षणमै परिवारमाथि आइपरेको अकल्पनीय विपत्ति प्रस्तुत हुन्छ।
बाबालाई पुकार्दै दौडिएकी छोरी, आत्तिएर कुदिरहेका परिवारका सदस्य र गाउँलेका दृश्यले ठूलो दुर्घटना वा महाविपत्तिको संकेत गर्छन्। यद्यपि, परिवार तहसनहस हुनुको वास्तविक कारण टिजरमा खुलाइएको छैन।
टिजरको अर्को भावुक दृश्यमा संवाद सुनिन्छ, ‘आज बाउको मुख हेर्ने दिन। तर एउटा बाले आफ्नो छोराको मुख हेर्न पाएन।’ यही क्रममा दिव्यदेव गाडीमा कतै गइरहेको तथा झरना थापा र सुहाना थापा आमा–छोरीको भूमिकामा रोइरहेको देखिन्छ।
टिजरले एउटा सुखी परिवार कसरी अचानक आएको घटनाका कारण उजाडिन्छ भन्ने कथा प्रस्तुत गरेको छ। पारिवारिक प्रेम, विछोड, त्याग र पीडाले भरिएको चलचित्रले दर्शकलाई भावनात्मक यात्रामा लैजाने संकेत टिजरबाट मिल्छ।
‘बाः एक योद्धा’को मर्मस्पर्शी टिजर हेर्न यहाँ क्लिक गर्नुहोस्।
चलचित्र ‘बाः एक योद्धा’ भदौ १९ गते प्रदर्शनमा आउनेछ। नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर सामना गर्ने चुनौती चलचित्रको मुख्य कथावस्तु रहेको निर्माण पक्षले जनाएको छ।
चलचित्रमा दिव्यदेव पन्त, झरना थापा र सुहाना थापासँगै माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको प्रमुख अभिनय छ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शन हुन लागेको हो।
नेपाली संगीत क्षेत्रमा दर्जनौँ लोकप्रिय तथा कालजयी गीत दिएका हरि लम्साल संगीतकारसँगै रचनाकार र गायक पनि हुन्। ‘बाः एक योद्धा’ मार्फत उनले फिचर चलचित्र निर्देशनमा डेब्यु गरेका हुन्। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको कथा र पटकथा पनि लम्सालले नै लेखेका छन्।
चलचित्रका निर्माता वसन्त लम्साल हुन्। शिवराम श्रेष्ठले छायांकन गरेको चलचित्रमा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशकका रूपमा रहेका छन्।

