जन्मथलोमा दीपाको तीज, गरिमाको पहिलो तिज ब्रत


karishma-manandha-deepa-shree-garima-panta
ग्ल्यामर नेपाल, काठमाडौं । आफु जन्मेको र हुर्के बढेको थलोमा तीज मनाउनुको मज्जा नै बेग्लै हुन्छ । हाँस्यकलाकार तथा फिल्म निर्मात्री दीपाश्री निरौला बिहीबार यस्तै अनुभव लिईरहेकी थिईन् विराटनगरमा । गृहनगरमा बीस वर्ष पछि दिदीबहिनीमाझ भव्य रुपमा तिज मनाइरहँदा उनमा खुशीको सिमा नै थिएन् ।

‘बीस वर्षपछि यसपटक घरमा तीज बनाएँ, यो भन्दा अघिका मेरा अधिकांश तीज काठमाडौंमै बित्यो,’विराटनगरबाट दीपाश्रीले भनिन्,‘अरु ठाउँमा तीज मनाउँदा सेलीब्रेती होइदो रहेछ, तर गृहनगरमा मनाउँदा चेलीबेटी पो भइयो ।’ दीपाका अनुसार तिजको दिन बिहानै उनी स्थानीय सरस्वती मन्दिरमा गएर पुजा गरी दिउँसो स्थानीय युवाहरुले आयोजना गरेको तीज सम्मान कार्यक्रममा सहभागिता जनाईन् । त्यसो त दीपाले विगतका वर्ष झैं यही वर्ष पनि केही तीज गीतको म्युजिक भिडियोमा अभिनय पनि गरिन् । ‘अहिले पहिलाको जस्तो भिडियोको चहलपहल घटेको छ ।’यसपटक करिब १५ वटा जति भिडियोमा अभिनय गरेकी दीपाले भनिन् । भावी ‘शिव’ र आफ्नो करियरका लागि भगवानसँग मागेर ब्रत बसेको बताउने दीपाले बाल्यकालको रमाइलो क्षणको पनि सम्झना गरिन् । ‘आमाले राती उठेर दर खाने भनेर दर बनाएर राख्नुहुन्थ्यो, तर हामी चाहिँ चाँडै नै उठेर थाहै नपाई खाइदिन्थ्यौं,’उनले वर्तमान दर खाने प्रवृत्ति प्रति व्यंग्य गरिन्,‘पहिला एक दिन दर खान्थे, अहिले चाहिँ महिना दिन खान्छन् ।’

नेपाली फिल्म क्षेत्रकै सुन्दरी नायिका करिश्मा मानन्धरले पनि सधैंको तिज झैं यसपटक पनि बिहानै घरमा नै पुजा गरिन् । ‘पहिला पनि घरमा नै पुजा गर्थे, कहिलेकाँही मात्र मन्दिरमा जान्थे,’उनले भनिन्,‘पहिला फिल्ममा व्यस्त हुने गरेकाले पनि कहिले तीज आउँथ्यो, कहिले चाडबाड आउँथ्यो केही थाहा हुँदैन थियो ।’ पहिले पहिले केही तीज गीतका म्युजिक भिडियोमा अभिनय गरेकी करिश्माले यसपटकको तीजका गीतका भिडियोमा भने खासै अभिनय गरेकी छैनन् रे । करिश्माले आफुले खाएर ब्रत बसेको बताईन् ।

जीवनमा पहिलोपटक तीजको ब्रत बसेकी नायिका गरिमा पन्त तिजको दिन बिहानै पशुपतिनाथको मन्दिरमा गई पुजा गरेर दिनभरजसो घरमा नै परिवारका साथ बिताईन् । ‘पानी र फलफूल खाएर ब्रत लिएँ, घरमा नै रमझम र रमाइलो गरियो, परिवारका सबै सदस्यको उपस्थितिले गर्दा पनि तिजको माहौल राम्रो बन्यो’ गरिमाले भनिन्,‘मेरो विचारमा तीज भनेको एउटा परम्परा हो, यो परम्परसँगै संस्कृति पनि भएकाले यसलाई जोगाउन जरुरी छ ।’ असल पति पाऊँ भनेर ब्रत बस्ने बानीको विपरित रहिछन् गरिमा । ‘असल पति प्राप्त गरुँ भनेर ब्रत बस्ने शैलीको म विरोधी हुँ, मलाई यस्तो कुरामा विश्वास लाग्दैन’ उनले भनिन्,‘ असल पति पाउने भनेर ब्रत बस्नेको संख्या हेर्ने हो भने प्राय सबै अविवाहित नारी यसरी नै ब्रत बस्छन्, अझ विवाहित नारी त पतिको दीर्घायूको कामना गर्दै नै ब्रत बस्नछन्, तर ब्रत बस्ने अधिकांश नारीहरु श्रीमानबाट नै पीडित भएका हुन्छन् ।’

SUBSCRIBE 👉