
फिल्म ‘लज्जावती’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ। प्रेमिल सम्बन्धबाट सुरु हुने कथा विश्वासघात, पारिवारिक परिस्थिति र जीवनका कठिन चुनौतीतर्फ मोडिएको संकेत ट्रेलरले दिएको छ।
सार्वजनिक ट्रेलरमा मुकुन भुसाल र जानुका विश्वकर्मालाई प्रेममा रहेका जोडीका रूपमा प्रस्तुत गरिएको छ। उनीहरूबीचको आत्मीयता, खुसीका क्षण र त्यसपछि सम्बन्धमा आउने अविश्वास तथा संघर्षलाई ट्रेलरले मुख्य रूपमा समेटेको छ।
कथा अघि बढ्दै जाँदा उनीहरूको सम्बन्धमा विभिन्न पात्र र परिस्थितिको प्रवेश हुन्छ। प्रेमसँगै धोका, पीडा, सामाजिक दबाब र भावनात्मक द्वन्द्व जोडिएपछि पात्रहरूको जीवनले कठिन मोड लिने देखिन्छ।
ट्रेलरमा मुकुन र जानुकासँगै श्रीकृष्ण निरौला तथा मेनुका माझीको पनि उल्लेखनीय उपस्थिति छ। यसअघि सार्वजनिक गरिएका पोस्टरले फिल्ममा प्रेमकथासँगै परिवार, ग्रामीण परिवेश, सामाजिक सम्बन्ध र भावनात्मक टकराव समेटिएको संकेत गरेका थिए।
फिल्मको लेखन तथा निर्देशन राजबहादुर सानेले गरेका हुन्। कलाकारतर्फ मुकुन भुसाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला र मेनुका माझीसँगै केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सीपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेललगायतको अभिनय छ।
आहा फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता सौरभ वली हुन्। कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया निर्माता रहेको फिल्ममा दिनेश बुढाथोकी कार्यकारी निर्माताका रूपमा जोडिएका छन्।
दिव्यराज सुवेदीले छायांकन गरेको फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका हुन्। एक्सन निर्देशन देव महर्जनको छ भने कुबेर सिने डिस्ट्रीब्युसनले फिल्मको वितरण गर्नेछ।
‘लज्जावती’ आगामी साउन २९ गते अर्थात् अगस्ट १४ देखि देशभरका सिनेमा हलमा प्रदर्शन गर्ने तयारी छ। प्रदर्शन मिति नजिकिँदै गर्दा सार्वजनिक गरिएको ट्रेलरले फिल्मको प्रेम, सम्बन्ध र विश्वासघातमा केन्द्रित भावनात्मक पक्षलाई दर्शकमाझ ल्याएको छ।
हेर्नुहोस् ‘लज्जावती’को पहिलो झलकमै प्रेम, पीडा र विश्वासघात


