
एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने नयाँ हरर फिल्म ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। अभिनेत्री उपासना सिंह ठकुरी र नवअभिनेता कुन्दन मान शाक्य मुख्य भूमिकामा रहने फिल्मलाई ओविद उद्दिनले निर्देशन गर्दैछन्।
ललितपुरस्थित लाबिम मलमा आयोजित पत्रकार सम्मेलनमार्फत फिल्मको घोषणा गरिएको हो। हरर जनरामा बन्ने ‘भिडियोटेप’को छायांकन भदौ ५ गतेदेखि उपल्लो मुस्ताङमा सुरु गरिने निर्माण पक्षले जनाएको छ। फिल्मको छायांकन ३० दिनसम्म चल्नेछ।
फिल्ममा उपासना र कुन्दनसँगै अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जिवन अधिकारी, शेखर चापागाँई र सिद्धार्थ सिंहलगायत कलाकारको पनि मुख्य भूमिका रहनेछ।
‘भिडियोटेप’मा वशिष्ट प्रधान डीओपीका रूपमा रहनेछन् भने ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर हुन्। महेश बरालले मुख्य सहायक निर्देशकको जिम्मेवारी सम्हाल्नेछन्।
फिल्ममार्फत निर्देशनमा डेब्यू गर्न लागेका ओविद उद्दिनले आफू सानैदेखि हरर फिल्मप्रति आकर्षित रहेको बताए।
उनले भने ‘म सानैदेखि हरर जनराका फिल्म हेरेर हुर्किएको हुँ। यसैले, आफ्नो डेब्यू फिल्ममा पनि यही जनरालाई अगाडि बढाएको छु। यो कथा काल्पनिक बिषयमा आधारित छ । कुनै पनि वास्तविक घटनासँग मिल्दैन।’
अभिनेत्री उपासना सिंह ठकुरीले फिल्मको कथावस्तुले आफूलाई आकर्षित गरेको बताइन्। फिल्मबारे लामो समयदेखि छलफल भइरहेको उल्लेख गर्दै उनले छायांकनमा जान उत्साहित रहेको सुनाइन्।
उपासनाले भनिन् ‘एक वर्ष अगाडिदेखि नै यो फिल्मको बिषयमा कुराकानी भइरहेको थियो । कथावस्तु निकै नै राम्रो छ। अब हामी फिल्मको छायांकनमा जाँदैछौं। एकदमै उत्साहित छु।’
नवअभिनेता कुन्दनले पनि ‘भिडियोटेप’लाई लिएर आफू निकै उत्साहित रहेको बताए।
निर्माण पक्षका अनुसार फिल्म करिब ४ करोड रुपैयाँको बजेटमा निर्माण हुनेछ। कार्यक्रममा एप्पल इन्टरटेन्मेन्टका प्रमुख नकिम उद्दिनले नयाँ टिमलाई साथ र समर्थन गर्न सबैसँग आग्रह गरेका थिए।

