अमेरिकाबाट धुर्मुस–सुन्तलीको नयाँ हास्य सिरियल ‘म त मर्छु कि क्या हो’, छोरी सुबिहानीको पनि डेब्यु

धुर्मुस–सुन्तली अमेरिकाबाट नयाँ हास्य सिरियल ‘म त मर्छु कि क्या हो’ लिएर दर्शकमाझ आउँदैछन्। प्रवासी नेपालीको जीवन, संघर्ष र संस्कृतिलाई हास्यव्यंग्यमा प्रस्तुत गरिने सिरियलमा उनीहरूकी छोरी सुबिहानी कट्टेलले पनि बाल कलाकारका रूपमा डेब्यु गरेकी छन्।

चर्चित हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ फेरि दर्शकमाझ हास्य सिरियल लिएर आउने भएका छन्। अमेरिकामा बस्दै आएका उनीहरूले नर्थ क्यारोलाइनालाई केन्द्र बनाएर नयाँ सिरियल ‘म त मर्छु कि क्या हो’ निर्माण गरेका हुन्।

सिरियलका निर्देशक सीताराम कट्टेलका अनुसार यसको छायांकन नर्थ क्यारोलाइनाका राले, केरी, होली स्प्रिङ्स, हाई पोइन्ट र ग्रिन्सबोरोसहित विभिन्न स्थानमा गरिएको छ।

धुर्मुस सुन्तली मिडियाको निर्माण रहेको सिरियल हरेक शुक्रबार नेपाली समयअनुसार साँझ ८:१५ बजे धुर्मुस सुन्तली युट्युब च्यानलमार्फत प्रसारण गर्ने तयारी गरिएको छ। अमेरिकामा भने शुक्रबार बिहान १०:३० बजे सिरियल हेर्न सकिने सीतारामले जानकारी दिएका छन्।

सिरियलको शीर्षक ‘म त मर्छु कि क्या हो’ धुर्मुसको विगतमा निकै चर्चित बनेको संवाद तथा थेगोबाट लिइएको हो।

धुर्मुस–सुन्तली फेरि आफ्नै चर्चित भूमिकामा

सिरियलमा सीताराम र कुञ्जना आफ्ना लोकप्रिय पात्र धुर्मुस र सुन्तलीकै भूमिकामा देखिनेछन्। उनीहरूकै निर्देशनमा निर्माण भएको सिरियलमा वरिष्ठ हास्य कलाकार मोहन मिश्र पनि मुख्य भूमिकामा देखिँदैछन्।

‘होस प्रसाद’ र ‘मिस्टर फन्टुस’ लगायत एक समयका लोकप्रिय हास्य कार्यक्रममा कलाकार तथा निर्देशकका रूपमा परिचित मिश्र लामो समयपछि अभिनयमा फर्किएका हुन्।

सिरियलमा दिनेश कार्की, शंकर राज वाग्ले, संयम लामिछाने, मोनिका चौलागाईं, चुडा धिमाल र धर्म भारतीलगायत कलाकारको पनि अभिनय रहनेछ।

छोरी सुबिहानीको बाल कलाकारका रूपमा डेब्यु

यसै सिरियलमार्फत सीताराम र कुञ्जनाले आफ्नी छोरी सुबिहानी कट्टेललाई पनि बाल कलाकारका रूपमा अभिनयमा डेब्यु गराएका छन्।

राजु केसीको छायांकन रहेको सिरियलमा आशिष अविरलको गायन, प्रकाश पुञ्जको शब्द, राजेन्द्र बज्गाईंको संगीत तथा राजेन्द्र मानन्धरको सम्पादन रहेको छ।

प्रवासी नेपालीको जीवन पनि कथाको केन्द्रमा

निर्माण पक्षका अनुसार ‘म त मर्छु कि क्या हो’ केवल हास्य मनोरञ्जनमा सीमित रहने छैन। सिरियलले अमेरिकामा बसोबास गर्ने नेपालीहरूको संघर्ष, सफलता, उपलब्धि, अवसर र चुनौतीसँगै प्रवासी जीवनका विविध पक्षलाई हास्यव्यंग्यात्मक शैलीमा प्रस्तुत गर्नेछ।

अमेरिकाको जीवनशैली, सामाजिक तथा सांस्कृतिक परिवेश, नेपाली समुदायका गतिविधि तथा प्रवासी नेपालीका दैनिक अनुभवलाई पनि कथामा स्थान दिइनेछ।

त्यस्तै, अमेरिका पुगेपछि नेपाली समुदायले सामना गर्ने भाषिक, सामाजिक र सांस्कृतिक चुनौती, काम र व्यवसायका अनुभव, पारिवारिक सम्बन्ध, नयाँ पुस्ताको सोच र नेपालीपन जोगाउने प्रयासजस्ता विषय पनि सिरियलको कथावस्तुमा समेटिने तयारी छ।

यसले विदेशमा रहेका नेपालीको दैनिक जीवनसँग जोडिएका वास्तविक परिस्थितिलाई हास्यका माध्यमबाट दर्शकमाझ पुर्‍याउने अपेक्षा गरिएको छ।

‘प्रवासमा नियमित कलाकर्म गर्नु प्रशंसनीय’

नर्थ क्यारोलाइनाको हाई पोइन्टमा बस्दै आएका नेपाली चलचित्रका पुराना निर्माता तथा व्यवसायी माधव ढकालले प्रवासमा रहेर नियमित रूपमा कला सिर्जना सुरु गर्नु प्रशंसनीय कार्य भएको बताएका छन्।

उनले भने, ‘प्रवासमा रहेर यहीँबाट नियमित रूपमा कलाकर्म सुरु गर्नु आफैंमा प्रशंसनीय काम हो। सीतारामजीले यस क्षेत्रलाई निरन्तरता दिनु सामान्य कुरा होइन। यसमा हामी सबैको साथ र सहयोग रहन्छ।’

अमेरिका पुगेदेखि नै सीताराम र कुञ्जना कलाकर्ममा सक्रिय रहँदै आएका छन्। यस अवधिमा उनीहरूले करिब एक दर्जन नेपाली व्यवसाय तथा संस्थाका विज्ञापन निर्माण गरिसकेका छन्। केही थप विज्ञापन र म्युजिक भिडियो पनि छायांकन तथा निर्माणको क्रममा रहेको सीतारामले बताएका छन्।

सीतारामले भने, ‘मुख्य रूपमा अब दर्शकले हाम्रो सिरियल नियमित रूपमा हेर्न पाउनुहुनेछ। हामी जहाँ रहे पनि आफ्नो कला र सिर्जनालाई निरन्तरता दिन सकिन्छ भन्ने सन्देश दिन चाहन्छौँ।’