
Sushil Sitaula and Nancy Khadka Lead Emotional ‘Akshara’ Trailer
नेपाली फिल्म ‘अक्षरा’को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ। ३ मिनेट २४ सेकेन्ड लामो ट्रेलरले छोरीको इच्छा र चाहनाविपरीत अभिभावकले खान्दानी परिवारको केटासँग जबरजस्ती विवाह गरिदिएपछि सिर्जना हुने पारिवारिक समस्या र त्यसले निम्त्याउने सामाजिक असरलाई केन्द्रमा राखेको छ।
मार्मिक र सन्देशमूलक कथावस्तुमा बनेको फिल्मले नेपाली समाजमा अझै देखिने पारिवारिक दबाब र विवाहसम्बन्धी सोचलाई पर्दामा उतार्ने संकेत ट्रेलरले दिएको छ। निर्माण पक्षले फिल्म प्रदर्शनपछि हलबाट निर्माताको भागमा आउने रकममध्ये १० प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणासमेत गरेको छ।
विनयराज पौडेलको निर्देशनमा बनेको फिल्ममा सुशील सिटौला र न्यान्सी खड्का मुख्य भूमिकामा छन्। उनीहरूसँगै सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा) र सृष्टि खड्काको अभिनय छ। फिल्ममा रोनक खड्का र प्रीसा ढुङ्गाना बालकलाकारका रूपमा प्रस्तुत भएका छन्।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको ‘अक्षरा’की प्रस्तुतकर्ता सोनी थापा (ढुङ्गाना) हुन्। फिल्ममा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाको लगानी छ भने सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने कार्यकारी निर्माताका रूपमा रहेका छन्।
निर्माता उग्रसेन स्वयंको मूल कथामा बनेको फिल्मको पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा लेखेका हुन्।
फिल्मका गीतमा सुरेन्द्र रानाको शब्द र कर्णराज गिरीको संगीत छ। अञ्जु पन्त, समीक्षा अधिकारी, रचना रिमाल र एसडी योगीले गीतमा स्वर दिएका छन्।
दिपेन बस्न्यातले छायांकन गरेको फिल्मलाई गौतम खड्काले सम्पादन गरेका हुन्। साहिल खानले टिजर तथा ट्रेलर कट गरेका छन् भने रामजी लामिछानेको नृत्य निर्देशन र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ।
भदौ २६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्म नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले फिल्म वितरण गर्दैछन्। ‘अक्षरा’को डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।


