‘१२ गाउँ २’ टिजर: जब दुई शक्ति आमनेसामने हुन्छन्, फैसला युद्धले होइन, एउटाको अन्त्यले गर्छ

एक्सनले भरिएको ‘१२ गाउँ २’ को टिजरले कथा खुलाएको छैन, तर विराज भट्ट र समीर भट्टको रहस्यमय आमनेसामने दृश्य अहिले चर्चाको केन्द्रमा छ।

Biraj Bhatt VS Samir Bhatt | 12 Gau 2

के ‘१२ गाउँ २’ मा विराज भट्ट र समीर भट्ट नै एकअर्काका दुश्मन बनेका हुन्? फिल्मको एक्सनले भरिएको नयाँ टिजर सार्वजनिक भएपछि अहिले सबैभन्दा धेरै चासो एतै छ।

१ मिनेट ४९ सेकेन्ड लामो टिजरले फिल्मको कथा लगभग गोप्य नै राखेको छ। बन्दुक, भिडन्त र एक्सनका दृश्य प्रशस्तै छन्, तर कथा कहाँबाट सुरु हुन्छ र विराज–समीरको सम्बन्ध कस्तो छ भन्ने खुलाइएको छैन।

टिजरको सबैभन्दा रोचक भाग अन्तिमतिर आउँछ। विराज र समीर एकअर्कातर्फ बन्दुक ताकिरहेको दृश्यसँगै आवाज सुनिन्छ – ‘जब दुई शक्ति आमनेसामने हुन्छन्, फैसला युद्धले होइन, एउटाको अन्त्यले गर्छ।’

यही दृश्य र संवादले फिल्ममा विराज र समीरबीच नै ठूलो टकराव हुने हो कि भन्ने अनुमानलाई जन्म दिएको छ। तर टिजरले यो अनुमानलाई पुष्टि भने गर्दैन।

दुवै पात्रबीचको सम्बन्ध के हो, उनीहरू किन आमनेसामने पुगेका हुन् वा यो दृश्य नै फिल्मको मुख्य द्वन्द्व हो भन्ने विषय निर्माण पक्षले खुलाएको छैन।

समीरलाई एउटा दृश्यमा खुट्टामाथि खुट्टा राखेर प्रभावशाली ‘डन’ शैलीमा प्रस्तुत गरिएको छ। यसले उनको पात्र सामान्य एक्सन हिरोभन्दा फरक शक्ति र प्रभाव भएको चरित्र हुनसक्ने संकेत त दिन्छ, तर उनी विराजको विपक्षमा छन् भन्ने निष्कर्ष निकाल्न अझै हतार हुनेछ।

Anoop Bikram Shahi’s villainous look – 12 gau 2

कथा लुकाएर एक्सन देखाउने रणनीति

टिजरको केन्द्रमा कथा होइन, एक्सन छ। गोली, मारधाड र तीव्र भिडन्तका दृश्यबीच विराज र समीरलाई सबैभन्दा बढी प्राथमिकता दिइएको छ। फिल्मका प्रमुख नकारात्मक पात्रका रूपमा चर्चा गरिएका अनुपविक्रम शाही भने टिजरमा छोटो समयका लागि मात्र देखिन्छन्।

केही दृश्यले अपहरणमा परेकी युवतीलाई मुक्त गराउने संघर्षतर्फ संकेत गरेजस्तो देखिए पनि फिल्मको मुख्य कथा यही हो भन्ने कुनै स्पष्ट आधार टिजरले दिएको छैन।

यसै फिल्मबाट काफिया अर्थात् कृशु शाही र वर्षा इटनी नेपाली फिल्ममा डेब्यु गर्दैछन्। तर उनीहरूका पात्रबारे पनि टिजरले खासै खुलाएको छैन।

फिल्ममा विराज, समीर र अनुपविक्रमसँगै सुनील पोखरेल, प्रकाश शाह, कालु राना, खुसी कार्की, पुष्कर भट्टलगायत कलाकारको अभिनय छ।

विराज र समीरको भिडन्त कि दर्शक झुक्याउने ट्विस्ट?

टिजरले उठाएको सबैभन्दा रोचक प्रश्न यही हो। यदि अन्तिम दृश्यले वास्तविक कथाको संकेत गरेको हो भने पर्दामा विराज र समीरबीचको टकराव फिल्मको ठूलो आकर्षण बन्न सक्छ।

तर यो दर्शकलाई अर्कैतर्फ सोच्न लगाएर वास्तविक कथा लुकाउने प्रचार रणनीति पनि हुन सक्छ।

त्यसैले अहिले नै ‘१२ गाउँ २’ लाई बाउ र छोराबीचको शक्ति संघर्षको कथा भन्नु उचित नहोला। टिजरले त्यस्तो सम्भावनाको ढोका मात्र खोलेको छ।

विराज भट्टको निर्देशन रहेको फिल्मको कथा तथा पटकथा सन्तोष सरकारले लेखेका हुन्। महेश पौडेल डीओपी रहेको फिल्मकी निर्माता सरस्वती भट्ट हुन्। एक्सन निर्देशन स्टन्ट सिल्भा र शंकर महर्जनले गरेका छन्।

‘१२ गाउँ’को दोस्रो श्रृंखलाका रूपमा बनेको फिल्म असोज ३० अर्थात् अक्टोबर १६ देखि दशैंको अवसर पारेर देशभर प्रदर्शनमा आउने तयारीमा छ।

फिल्म रिलिजअघि भने एउटा कौतुहलताले दर्शकलाई पछ्याइरहने देखिन्छ। विराज र समीर साँच्चिकै एकअर्काविरुद्ध उभिएका हुन् कि ‘१२ गाउँ २’ ले अझै ठूलो ट्विस्ट लुकाइरहेको छ?

SUBSCRIBE 👉