फिल्म ‘आशा’की निर्मात्री शर्मिला थापा कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

फिल्म ‘आशा’की निर्मात्री शर्मिला थापा सर्लाही–१ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन्। ६९७ मत प्राप्त गरेकी उनले पार्टीभित्र युवा र कला क्षेत्रका सरोकार उठाउने बताएकी छन्।

फिल्म ‘आशा’की निर्मात्री तथा समाजसेवी शर्मिला थापा नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन्। सर्लाही क्षेत्र नम्बर १ बाट युवा महिलातर्फ निर्वाचित उनले अब पार्टीभित्र कला क्षेत्रका विषय उठाउने बताएकी छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न क्षेत्रीय अधिवेशनमा थापाले ६९७ मत प्राप्त गरिन्। उनकी प्रतिस्पर्धी कृष्मा भट्टराईले ४२८ मत ल्याइन्। दुई उम्मेदवारबीच २६९ मतको अन्तर रह्यो।

सहमतिको प्रयास सफल नभएपछि मंगलबार सर्लाहीको बयलबासस्थित गल्ला व्यापार संघको भवनमा निर्वाचन भएको थियो।

निर्वाचित भएपछि थापाले महाधिवेशनमा युवाका समस्या र कला क्षेत्रका सरोकारलाई प्राथमिकताका साथ उठाउने बताइन्। फिल्म निर्माणसँग जोडिएको अनुभवबाट यस क्षेत्रको आवाज पार्टीसम्म पुर्‍याउने उनको भनाइ छ।

“नेपाली कांग्रेसले युवाको प्रतिनिधित्व सुनिश्चित गरेको छ। यसपटक मलगायत धेरै युवा महाधिवेशनमा सहभागी हुँदैछौँ। त्यहाँ हामीले युवाका समस्यालाई उठाउनेछौँ। साथै, म कला क्षेत्रसँग जोडिएको व्यक्ति भएकाले यस क्षेत्रको आवाजलाई बुलन्द रूपमा उठाउनेछु। नेपाली कांग्रेसलाई कला क्षेत्रमैत्री बनाउन मेरो भूमिका रहनेछ,” उनले भनिन्।

राजनीतिक जिम्मेवारीसँगै थापा आफ्नो फिल्म ‘आशा’को प्रदर्शनको तयारीमा पनि छिन्। उनले निर्माण गरेको फिल्म माघेसंक्रान्तिको अवसर पारेर माघ १ गतेदेखि प्रदर्शनमा ल्याउने तयारी छ।

SUBSCRIBE 👉