‘सिन्दूर’को छायांकन दाङबाट सुरु, पुष्प खड्का र प्रशंसा रायमाझी मुख्य भूमिकामा

अभिनेता पुष्प खड्का र अभिनेत्री प्रशंसा रायमाझी अभिनीत नयाँ फिल्म ‘सिन्दूर’को छायांकन दाङबाट सुरु भएको छ। लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा बन्ने फिल्मले महिलाको जीवनमा सिन्दूरको सामाजिक र भावनात्मक महत्वलाई कथाको केन्द्रमा राख्नेछ।

नेपाली फिल्म ‘सिन्दूर’को छायांकन सुरु भएको छ। अभिनेता पुष्प खड्का र अभिनेत्री प्रशंसा रायमाझीलाई मुख्य भूमिकामा प्रस्तुत गर्ने फिल्मको छायांकन पश्चिम नेपालको दाङबाट सुरु गरिएको निर्माण पक्षले जनाएको छ।

कस्तुरी प्रोडक्सन प्रा.लिको प्रस्तुति तथा क्लासिक सिने युनिभर्स प्रा.लिको सहकार्यमा निर्माण हुन लागेको फिल्मलाई लक्ष्मण सुनारले लेखन तथा निर्देशन गर्दैछन्। उनले यसअघि निर्देशन गरेका ‘बुलाकी’ र ‘परालको आगो’ चर्चामा आएका फिल्म हुन्।

फिल्ममा सञ्जीव सार्कीको लगानी रहेको छ भने दिनेश सिंह महरा कार्यकारी निर्माताको भूमिकामा छन्। निर्माण पक्षले करिब एक महिनाको छायांकन तालिका तय गरेर काम सुरु गरेको जनाएको छ।

‘सिन्दूर’मा पुष्प खड्का र प्रशंसा रायमाझीको जोडीलाई पहिलोपटक प्रमुख भूमिकामा पर्दामा देख्न पाइनेछ। सामाजिक कथावस्तुमा आधारित फिल्मले महिलाको जीवनमा सिन्दूरले राख्ने सामाजिक र भावनात्मक अर्थलाई कथाको केन्द्रमा राख्नेछ।

निर्माण पक्षका अनुसार फिल्मले विशेषगरी एक महिलाका लागि सिन्दूरको महत्व र त्यससँग जोडिएका सम्बन्ध, भावना तथा सामाजिक पक्षलाई कथामार्फत प्रस्तुत गर्ने प्रयास गर्नेछ।

फिल्मको छायांकन संकल्प भुजेलले गर्दैछन्। संगीततर्फ प्रशान्त सिवाकोटी, श्रीकृष्ण बम मल्ल र दिनेश ढकाल रहनेछन्।

त्यस्तै, प्रकाश हमाल निर्माण प्रमुख, करण बहादुर साउद मुख्य सहायक निर्देशक र रामजी लामिछाने नृत्य निर्देशकका रूपमा फिल्मसँग जोडिएका छन्।

दाङबाट सुरु भएको छायांकन आगामी एक महिनासम्म विभिन्न लोकेसनमा जारी रहने निर्माण पक्षले जनाएको छ।

SUBSCRIBE 👉