उपल्लो मुस्ताङमा उपासना र कुन्दनको हरर फिल्म ‘भिडियोटेप’को सुटिङ सकियो

उपल्लो मुस्ताङलाई मुख्य लोकेसन बनाइएको हरर फिल्म ‘भिडियोटेप’को छायांकन ३१ दिनमा सकिएको छ। ओविद उद्दिन निर्देशित फिल्ममा उपासना सिंह ठकुरी र कुन्दन मान शाक्य मुख्य भूमिकामा छन्।

एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भइरहेको हरर फिल्म ‘भिडियोटेप’को छायांकन पूरा भएको छ। उपल्लो मुस्ताङलाई मुख्य लोकेसन बनाइएको फिल्मको सम्पूर्ण छायांकन ३१ दिनमा सकिएको निर्माण पक्षले जनाएको छ।

भदौको पहिलो साताबाट उपल्लो मुस्ताङमा सुरु भएको फिल्मको अधिकांश दृश्य त्यहीँ खिचिएको हो। निर्माण टोलीले काठमाडौंमा पनि तीन रात फिल्मको छायांकन गरेको छ।

फिल्ममा अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता कुन्दन मान शाक्य मुख्य भूमिकामा छन्। उनीहरूसँगै अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जीवन अधिकारी, शेखर चापागाईं र सिद्धार्थ सिंहलगायत कलाकारको अभिनय रहेको छ।

‘भिडियोटेप’लाई ओविद उद्दिनले निर्देशन गरेका हुन्। हरर जनराप्रति लामो समयदेखि रुचि रहेकाले आफ्नो निर्देशन यात्रामा यही विधाको कथा रोजेको उनले बताएका छन्।

छायांकन सम्पन्न भएपछि निर्देशक उद्दिनले सम्पूर्ण टिमको मेहनतका कारण निर्धारित समय आसपासमै काम पूरा गर्न सफल भएको बताए।

उनले भने, “हामीले निकै मेहनतका साथ काम गर्‍यौं। फिल्मको सम्पूर्ण टिमले निकै मेहनत गरेका कारण समयमै छायांकन सकिएको हो।”

फिल्म निर्माण घोषणा गर्दा यसको छायांकनका लागि करिब ३० दिनको तालिका बनाइएको थियो। अन्ततः उपल्लो मुस्ताङ र काठमाडौंको कामसहित फिल्मको छायांकन ३१ दिनमा पूरा भएको हो। निर्माण घोषणा कार्यक्रममा फिल्म करिब ४ करोड रुपैयाँको बजेटमा तयार गरिने जानकारी दिइएको थियो।

यसअघि निर्देशक उद्दिनले ‘भिडियोटेप’ वास्तविक घटनामा आधारित नभई पूर्णतः काल्पनिक कथा भएको बताएका थिए। फिल्मलाई उपल्लो मुस्ताङको भूगोल र वातावरणमा केन्द्रित गरेर हरर शैलीमा प्रस्तुत गर्न लागिएको छ।

फिल्मको छायांकन निर्देशक अर्थात् डीओपी वशिष्ट प्रधान हुन्। महेश बराल मुख्य सहायक निर्देशक र ईश्वर घिमिरे प्रोडक्सन म्यानेजरका रूपमा रहेका छन्।

एप्पल इन्टरटेन्मेन्टले यसअघि ललितपुरको लबिम मलमा आयोजित कार्यक्रममा फिल्मको औपचारिक निर्माण घोषणा गरेको थियो। सोही कार्यक्रममा उपासना र कुन्दनसहित मुख्य कलाकार तथा प्राविधिक टोली सार्वजनिक गरिएको थियो।

छायांकन सकिएसँगै फिल्म अब पोस्ट–प्रोडक्सनतर्फ जानेछ। निर्माण पक्षले ‘भिडियोटेप’को प्रदर्शन मिति भने अहिलेसम्म सार्वजनिक गरेको छैन।

SUBSCRIBE 👉