ग्ल्यामर नेपाल, काठमाडौं । नेपालमा विस्तारै तेस्रो लिङ्गीका कथा/व्यथाले मुलधारमा स्थान पाउन थालेको छ। सार्वजनिक रुपमै तेस्रो लिङ्गीको यथार्थ र समस्याका बारेमा बहस गर्न थालिएको छ। यसकै पछिल्लो कडी स्वरुप तेस्रो लिङ्गीको जीवन यात्रा समेटिएको डकुमेन्ट्री ‘अञ्जली : एउटा पृथक यात्रा’को ट्रेलर सार्वजनिक गरिएको छ। मोहन राईले निर्देशन गरेको यो डकुमेन्ट्रीको असोज दुई गते प्रिमियर गरिने मिडल वे फिल्मसले जानकारी दिएको छ।
डकुमेन्ट्रीमा नुवाकोटको एउटा विकट गाउँमा नविन वाइवाको रुपमा जन्मिएको केटा कसरी अञ्जली अर्थात् तेस्रो लिङ्गी बन्यो भन्ने कथा समेटिएको छ। डकुमेन्ट्रीमार्फत तेस्रो लिङ्गीहरुले भोग्ने विभेद, लाञ्छना, वर्तमानमा भोगिरहेको संघर्ष र भविष्यको आशालाई उजागर गर्ने प्रयास गरिएको निर्देशक राईले जानकारी दिएका छन्। ‘नविनदेखि अञ्जलीसम्मको यात्रा’मात्र केन्द्रित यस वृत्तचित्र ५० मिनेट लामो छ। पाँच जना दाजुभाइमा कान्छा नविन एसएलसी दिएर नुवाकोटबाट काठमाडौं आएपछि अञ्जलीले आफू तेस्रो लिङ्गी भएको चाल पाएकी थिइन्।